सल्यान, ९ वैशाख ।
स्थानिय स्तरमै खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्य सहित सल्यानका विभिन्न वडाहरुमा प्रतियोगिताहरु सञ्चालन हुनेगरेका छन् । खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्दै लागूऔषध दुर्व्यसन, हिंसा तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्न यस्ता गतिविधिहरुले महत्वपूर्ण भूमिका खेल्ने गर्दछन ।
यसैक्रममा जिल्लाको कपुरकोट गाउँपालिका ४ नम्बर वडा कार्यालयले महिला तथा पुरुष भलिवल खेलसहित वडा कप सञ्चालन गर्ने भएको छ । यहि वैशाख ११ र १२ गते दुई दिन तेश्रो वडा कप खेलकुद प्रतियोगिता तय गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत अन्तर टोल स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता र घैटो फोड प्रतियोगिता समावेश गरिएको वडा अध्यक्ष मित्र कठायतले जानकारी दिए । गाँडापानी स्थित गायत्री आधारभुत बिद्यालयको प्रांगणमा खेलकुद प्रतियोगिता सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।
ग्रामीण परिवेशमा महिलाको सक्रिय सहभागिता अझै चुनौतीपूर्ण भइरहेका बेला वडा कपमा समावेश गरिएको महिला भलिवल प्रतियोगिताले महिलाहरुमा आत्मविश्वास अभिवृद्धि गर्न र सामाजिक भूमिकामा महिलाको उपस्थिति बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । वडा कार्यालयले युवा खेलाडी, खेलप्रेमी तथा सम्पुर्ण वडाबासीमा उपस्थितिको लागि अनुरोध गरेको छ ।
