७ बैशाख २०८३ सल्यान, कपुरकोट

डिभिजन वन कार्यालय खलंगा, सल्यानको आयोजनामा ३१औँ वन्यजन्तु सप्ताह “सुरक्षित मानिस, संरक्षित वन्यजन्तु : जैविक विविधताको प्रयोग समृद्धिको सेतु” भन्ने मूल नारासहित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम हिजो २०८३ साल वैशाख ७ गते कपुरकोट गाउँपालिका सभाहलमा सम्पन्न भएको छ ।

वन अधिकृत अन्जना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष प्रदीप खड्का, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय पदाधिकारी घनश्याम शर्मा, महासचिव अरुणा खत्री, कपुरकोट इकाइ अध्यक्ष खड्गबहादुर केसी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी अदुवा बाली अनुसन्धान केन्द्रका सूचना अधिकारी लक्ष्मण रोका, वनस्पति अनुसन्धान केन्द्र मुलपानीका सूचना अधिकारी दामोदर दाहाल, साना किसान सहकारी संस्था लिमिटेड कपुरकोटका प्रतिनिधि जितप्रसाद आचार्य लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कपुरकोट सब–डिभिजन वन कार्यालयकी कर्मचारी अमृता बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कपुरकोट सब–डिभिजन प्रमुख (रेन्जर) कमला घर्ती मगरले गरेकी थिइन् ।

कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्वका कारण, प्रभाव र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो । साथै कपुरकोट गाउँपालिका भित्रका सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

निर्णयहरू :

कार्यक्रमबाट निम्न पाँच बुँदे निर्णयहरू पारित गरिएको छ :

१. विद्यमान वन तथा वन्यजन्तु सम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायमा प्रतिकूल देखिएका कानुन संशोधनका लागि तीनै तहका सरकारसमक्ष डिभिजन वन कार्यालयमार्फत पहल गर्ने ।
२. वन्यजन्तुबाट हुने क्षतिको राहत रकम स्थानीय तहबाट उपलब्ध गराउन सबै सरोकारवाला निकायले पहल गर्ने ।
३. गर्मीयाममा वन डढेलोको उच्च जोखिमलाई मध्यनजर गर्दै ५००० लिटर क्षमताको पानी संकलन ट्याङ्कर आपतकालीन प्रयोगका लागि व्यवस्था गर्ने ।
४. आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी योजना कपुरकोट गाउँपालिकामा पेश गर्ने ।
५. वन पैदावार तथा मिचाहा प्रजातिको व्यवस्थापन गरी त्यसबाट जैविक मल उत्पादन गर्ने ।

कार्यक्रममा सहभागीहरूले जैविक विविधता संरक्षण, वन्यजन्तु तथा वनस्पतिको संरक्षण, संवर्द्धन र सदुपयोगमार्फत पृथ्वी संरक्षणमा सबै नागरिकको साझा जिम्मेवारी रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला र वक्ताहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो ।