कर्णाली प्रदेशमा प्रतिनिधि सभा निर्वाचनमा ७ जना नयाँ अनुहार निर्वाचित भए, जसले पुराना नेताहरूलाई हराए।
जाजरकोटमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै कांग्रेसका खड्गबहादुर बुढाले जित हासिल गरे।
विभिन्न क्षेत्रका पूर्वमन्त्रीहरू जनार्दन शर्मा, खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डु, र अन्य नेताहरू पनि निर्वाचनमा पराजित भए।

सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कर्णालीबाट निर्वाचित भएका १२ जनामध्ये ७ जना नयाँ अनुहार छन् । जुम्लाबाट ज्ञानेन्द्र शाही दोस्रो पटक, कालिकोटबाट महेन्द्रबहादुर शाही तेस्रो पटक र डोल्पाबाट धनबहादुर बुढा चौथो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै दैलेख—२ बाट निर्वाचित लक्ष्मीप्रसाद पोखरेल पनि यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य बनिसकेका थिए भने रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा ०७४ मा प्रदेश सांसद बनेर अर्थमन्त्री समेत बनिसकेका थिए ।

उनीहरू बाहेक अधिकांश पहिलो पटक संसदीय निर्वाचनमा ‘डेब्यु’ गरेका छन् । मतदाताहरूले नयाँहरूलाई रोज्दा विगत लामो समयदेखि चुनाव लड्दै आएका ६ जना पूर्वमन्त्रीलाई यो पटक जनताले पत्याएनन् ।

तत्कालीन माओवादीको उपमहासचिव समेत भइसकेका शक्तिबहादुर बस्नेतलाई जाजरकोटका जनताले यो पटक अस्वीकार गरे । पूर्वमन्त्री बनेका बस्नेत ०७०, ०७४ र ०७९ गरी तीन पटक प्रतिनिधि सभा चुनाव जितेर ‘ह्याट्रिक’ गरेका थिए ।

उनले केन्द्रमा वन, ऊर्जादेखि गृहजस्ता ठुला मन्त्रालयको नेतृत्व पनि गरे । तर जिल्लामा उनले समुचित विकास गर्न नसकेको गुनासो व्याप्त थियो । उनकै दल नेपाली कम्युनिस्ट पार्टीभित्रै उनीमाथि प्रश्न उठेको थियो भने यो पटक चुनाव नलड्न उनलाई नेता–कार्यकर्ताहरूले आग्रह नै गरेका थिए ।

तर, प्रचण्डले अन्तिम अवस्थामा उनलाई नै टिकट थमाउँदा नेकपाका नेता गणेशप्रसाद सिंहले पार्टी नै परित्याग गरे भने अन्य नेता, कार्यकर्ताभित्र पनि असन्तुष्टि कायम थियो । त्यसका बाबजुद चुनाव लडेका बस्नेतलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले दुई हजार ७१५ मतान्तरले पराजित गरिदिए ।

युवा नेता बुढाले पूर्वगृहमन्त्री समेत भइसकेका बस्नेतलाई यति ठुलो अन्तरमा पराजित गरेसँगै जाजरकोटमा माओवादी आधार किल्ला भत्किएको छ । कांग्रेसका बुढाले २० हजार १४२ मत पाउँदा बस्नेतले १७ हजार ४०७ मतमात्रै पाए ।

०७९ मा बस्नेतले कांग्रेसको समर्थनमा ३४ हजार १५१ मतसहित चुनाव जितेका थिए, तर अहिले कांग्रेसले नै उनको संसदीय यात्रामा ‘ब्रेक’ लगाइदियो ।

पराजित भएसँगै बस्नेतले आफ्नो कमजोरी स्विकारेका छन् । ‘जनतामा नियमित रूपमा एउटै मान्छे भइरहँदा अलि नयाँ टेस्ट गर्न पनि पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ,’ उनले भने, ‘जनतालाई पनि एउटै मान्छे, एउटै अनुहार दोहोरिँदा नयाँ अनुहारहरू पनि हेरौँ न त भनेर लाग्नु स्वाभाविक कुरा भयो ।’

यही कुरा कार्यकर्ताले चुनाव लड्नुअघि नै भने पनि बस्नेतले नमानेको जाजरकोटका एक नेकपा नेताले बताए । ‘जिल्लामा पार्टीको अवस्था र जनताको अवस्थाबारे ध्यान नदिने, तर सधैँ प्रचण्डको वरिपरि भएर सत्तामा गइरहने कुरा आफैँमा उपयुक्त थिएन,’ ती नेताले भने, ‘जनताले अहिले उहाँलाई सबक सिकाए ।’

पूर्वमन्त्री जनार्दन शर्माले पनि यो पटक चुनाव जित्न सकेनन् । सशस्त्र युद्धका प्रमुख एक कमान्डर शर्माले ०६४, ०७०, ०७४, ०७९ गरी चार पटक प्रतिनिधि सभा चुनाव अत्यधिक बहुमत प्राप्त गरेर जितेका थिए ।

माओवादीमा रहँदा उपमहासचिवसम्म रहेका शर्मा प्रचण्डले सुरु गरेको एकता अभियानमा सहभागी नभई छुट्टै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेर निर्वाचनमा होमिएका थिए । सोही पार्टीबाट आँखा चुनाव चिह्नसहित चुनावी मैदानमा होमिएका शर्मालाई यो पटक रुकुम पश्चिमले अनुमोदन गरेन । शर्मालाई यो पटक एमालेको पनि समर्थन थियो, तर उनले तेस्रो स्थानमा मत पाए ।

नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ मतसहित चुनाव जित्दा दोस्रोमा कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाए । तेस्रोमा जनार्दनले १४ हजार ३४६ मत पाए । रुकुममा विकासका सूत्रधार मानिन्छन् शर्मा । उनकै पहलमा पहिलो पटक हेलिकप्टरमा डोजर ल्याएर सडक खन्ने कामको सुरुवात भएको थियो । तर पनि उनले चुनाव जित्न सकेनन् ।

शर्माले चुनावमा पराजित भए पनि राष्ट्र«को हितमा हुने हरेक कदममा साथ र समर्थन दिने प्रतिबद्धता जाहेर गरेका छन् । ‘पदमा भए पनि, नभए पनि रुकुमको विकासमा सधैँ लागिरहने छु,’ शर्माले भनेका छन् ।

यो पटक चुनाव हार्ने अर्का पूर्वमन्त्री हुन्, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ । विप्लव नेतृत्वको नेकपा माओवादीबाट १८ वर्षपछि चुनाव लडेका उनको लज्जास्पद हार भएको छ । बुलेट हुँदै ब्यालेटमा फर्किएका उनी कालिकोटमा प्रचण्ड र सबै दल मिल्दा पनि आफूले चुनाव जित्ने दाबी गर्थे । तर उनले ५ हजार मत पनि कटाउन सकेनन् ।

नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले ११ हजार ७३४ मतसहित चुनाव जित्दा एमालेका नगीन्द्र शाही १० हजार ६४७ मतसहित दोस्रो भए । कांग्रेसका हर्षबहादुर बमले ७ हजार ४५० मत पाउँदा प्रकाण्डले चौथो नम्बरमा ४ हजार ९९३ मतमात्रै पाए ।

०६४ मा पहिलो पटक माओवादीबाट चुनाव लडेका उनले २७ हजार बढी मत ल्याएर जितेका थिए । केन्द्रमा उनले महिला तथा बालबालिका र पर्यटन मन्त्रालयको जिम्मेवारी पनि सम्हाले ।

सांसदको कार्यकाल नसकिँदै ०६९ मा प्रचण्डसँग असन्तुष्ट जनाउँदै विप्लवसँग लागेका उनले त्यसपछिका हरेक चुनाव वहिष्कार गर्दै आएका थिए ।

पछिल्लो समय उनको पार्टीले चुनावमा भाग लिने निर्णय गर्‍यो । यद्यपि उनीमात्र होइन, समग्रमा उनको पार्टीकै सर्मनाक हार भएको छ । चुनाव हारेपछि प्रकाण्डले आफू स्वाधीनताको पक्षमा लागिरहने बताए ।

यो पटक मतदाताबाट अस्वीकृत हुनेमा कर्णाली प्रदेश सरकारका तीन पूर्वमन्त्री पनि छन् । जसमा दैलेख—१ का अम्मरबहादुर थापा, जुम्लाका नरेश भण्डारी र मुगुका चन्द्रबहादुर शाही छन् । यी तीनै जना नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लडेका थिए ।

०६४ सालदेखि एमालेबाट संसदीय चुनाव लड्दै आएका दैलेखका थापाले पहिलो पटक ०७० सालको चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेका थापाले तत्कालीन नेकपाभित्र विवाद उत्कर्ष हुँदा एमालेको निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गर्दै माओवादीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता बचाउन सहयोग गरेका थिए ।

त्यही बेलादेखि चर्चामा आएका उनी ६ महिना भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री बनेका थिए । एमालेले कारबाही गरेपछि विभाजनका बेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ लागेका थापा ०७९ मा सोही क्षेत्रबाट कांग्रेसको समर्थनसहित प्रतिनिधि सभा चुनाव जिते ।

केन्द्रमा शिक्षा समितिको सभापति हुँदा उनले शिक्षकप्रति गरेको टिप्पणी विवादित बनेको थियो । उक्त टिप्पणीले नै अहिले घाटा भएको बताइएको छ । यो पटक एकीकृत समाजवादी, माओवादी मिलेर बनेको नेकपाबाट चुनाव लडेका उनको सर्मनाक हार भएको छ ।

उनले चौथो नम्बरमा जम्मा ४ हजार २५६ मत पाए । अघिल्लो पटक उनलाई समर्थन गरेको कांग्रेसबाट उम्मेदवार बनेकी बासना थापाले १२ हजार ३७२ मतसहित चुनाव जित्दा दोस्रोमा एमालेका रविन्द्र शर्माले ११ हजार ७९६ मत पाए ।

तेस्रोमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५९ मत पाउँदा थापा चौथो स्थानमा रहे । पराजित भएपछि थापाले भने, ‘मैले चुनाव हारेँ, हारलाई हार नमानेर दैलेखी जनताको विकास र समृद्धिका लागि प्रतिबद्ध भइरहने छु, जित्ने–हार्ने स्वाभाविक प्रक्रिया हो ।’

कर्णालीका पूर्वकानुनमन्त्री नरेश भण्डारीले ३ हजार १८१ मतान्तरले चुनाव हारे । जुम्ला विकासको मोडेल स्थापित गरेका भण्डारी माओवादीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन् ।

यद्यपि यो पटक जुम्ली जनताले उनलाई पत्याएनन् । राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर चुनाव जित्दा उनले ११ हजार ६३५ मत पाए । माओवादीले जुम्लालाई आफ्नो एक आधार क्षेत्र माने पनि पछिल्ला दुई वटा चुनावमा पराजय भोगेको छ ।

भण्डारीले ०६४ सालमा संविधान सभा चुनाव जितेका थिए भने ०७४ मा प्रदेश सभा लडेर कर्णालीको कानुनमन्त्री बनेका थिए ।

मगुमा चन्द्रबहादुर शाही ५ हजार ५५८ मतसहित तेस्रो स्थानमा सीमित बने । यहाँ कांग्रेसका खड्गबहादुर शाहीले ७ हजार ९१४ मतसहित चुनाव जितेका छन् भने दोस्रोमा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत पाएका छन् ।

चन्द्रबहादुर शाही ०४८ सालदेखि ०६४ सालसम्म लगातार एमालेबाट चुनाव लडेका थिए, जसमा ०५६ सालमा चुनाव जिते । ०७४ मा एमालेबाटै चुनाव लडेर प्रदेश सांसद बनेका उनी एमाले विभाजनका क्रममा एकीकृत समाजवादीतिर लागे ।

त्यही बेला कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका उनी यो पटक समाजवादी, माओवादी मिलेर बनेको नेकपाबाट उम्मेदवार बनेका थिए ।

 

ratopati.com बाट