फागुण १४ सल्यान ।

जिल्ला प्रशासन कार्यालय, सल्यानले होली पर्वलाई मर्यादित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीमा आग्रह गरेको छ।

कार्यालयले विहिबार एक सूचना जारी गर्दै होलीका अवसरमा अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्नरनगराउन सबैमा अनुरोध गरेको हो ।
प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा द्वारा हस्ताक्षरित सूचनामा जिल्लावासीमा शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरिएको छ।

त्यस्तै कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी निर्वाचन आचारसंहिता उल्लंघन हुने कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ। साथै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना, कालोबजारी, मूल्यवृद्धि तथा उपभोक्ता हितविपरीतका कार्य नगर्नरनगराउन भनिएको छ।
त्यसैगरी, चाडपर्वको बहानामा जुवा–तास, बाजी वा सट्टेबाजी जस्ता गैरकानुनी गतिविधि नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हो–हल्ला र झैझगडा नगर्न आग्रह गरिएको छ।
राजनीतिक दलको नाम, झण्डा, चुनाव चिन्ह वा उम्मेदवारको फोटो अंकित पोशाक बिक्री–वितरण तथा त्यस्ता पोशाक लगाएर होली खेल्नसमेत निषेध गरिएको सूचनामा उल्लेख छ।
कसैको इच्छाविपरीत रङ लगाउने, लोला हान्ने वा जबर्जस्ती होली खेल्न दबाब दिने जस्ता कार्य नगर्न प्रशासनले चेतावनी दिएको छ।
कुनै अवाञ्छित गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गर्नसमेत अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सबैलाई आपसी सद्भाव र भाइचारा कायम राख्दै सुरक्षित र मर्यादित रूपमा होली पर्व मनाउन आह्वान गरेको छ।