१२ फागुन २०८२, कपुरकोट–सल्यान।

प्रतिनिधि सभा सदस्य पदका लागि सल्यान जिल्लाबाट गुलाव जंग शाह लाई विजयी गराउने उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कपुरकोट गाउँपालिका–४ किमुचौरमा आज घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन वडा नं. ४ का इन्चार्ज मित्रलाल कठायत, वडा कमिटी अध्यक्ष चित्र बहादुर थापा, सचिव दीपक पुन, वडा सदस्य रेशम चन्द तथा अनेमसंघ अध्यक्ष बेलमती बुढा लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो । टोलीले साविक वडा नं. १ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट तथा संवाद गरेको जनाएको छ ।

घरदैलोका क्रममा अधिकांश मतदाताले एमालेप्रति सकारात्मक अभिव्यक्ति दिँदै यसपटक प्रतिनिधि सभा सदस्यमा गुलाव जंग शाहलाई मत दिने प्रतिबद्धता व्यक्त गरेको वडा कमिटीले जनाएको छ ।

वडा इन्चार्ज मित्रलाल कठायतका अनुसार सल्यानको समग्र विकासका लागि स्पष्ट सोच, दीर्घकालीन योजना, केन्द्रसम्म प्रभावकारी पहुँच तथा कार्यान्वयन क्षमतासहितको नेतृत्व आवश्यक पर्ने उल्लेख गर्दै ती गुण शाहमा विद्यमान रहेको दाबी गर्नुभयो ।

त्यस्तै, शाह हाल नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेकाले केन्द्रसँग प्रत्यक्ष समन्वय र पहुँच स्थापित गर्न सक्ने व्यक्तित्व भएको वडा कमिटी अध्यक्ष चित्र बहादुर थापाले बताउनुभयो । सांसदका रूपमा निर्वाचित भए सल्यानका आवश्यक योजना, बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा भित्र्याउन सहज हुने विश्वास मतदाताले व्यक्त गरेको उहाँको भनाइ छ ।

वडा सचिव दीपक पुनका अनुसार आजबाट सुरु भएको घरदैलो कार्यक्रम भोलिदेखि धनबाङ, गाडापानी र चिन्ने खोला क्षेत्रमा क्रमशः सञ्चालन गरिनेछ ।