फागुन ०४,सल्यान ।

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता केन्द्रित घरदैलो अभियानलाई तीव्र बनाएको छ। गाउँ–गाउँ पुगेर प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानले ग्रामीण बस्तीहरूमा चुनावी माहोल थप तताएको छ भने मतदाताको उत्साहसमेत उल्लेखनीय रूपमा बढेको देखिएको छ।

पार्टीका नेता तथा कार्यकर्ताहरूले हिजो दार्मा गाउँपालिका का मैदान, मौलेईखाली, फारुलाचौर, मौलाहाले लगायत आधा दर्जनभन्दा बढी बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीय आमा समूह, युवा क्लब, कृषक समूह र जेष्ठ नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको सुझाव, गुनासा र अपेक्षा संकलन गरिएको थियो। दार्माबाट सुरु भएको अभियान छिमेकी कुमाख गाउँपालिका मा प्रवेश गरेको पार्टीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु मुख्य उद्देश्य रहेको बताए। उनले स्थानीय स्तरमा देखिएका सडक, खानेपानी, सिंचाइ, स्वास्थ्य र शिक्षासम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। “जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाइनेछ,” उनले भने, “कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा साना–घरेलु उद्यम विस्तारमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो।”

मल्लले कृषिमा उत्पादन लागत घटाउने, बजार सुनिश्चित गर्ने तथा पर्यटन सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गरी पूर्वाधार विकास गरिने योजना प्रस्तुत गरे। परिवर्तनका लागि सक्रिय सहभागिता जनाउन मतदातालाई आह्वान गर्दै उनले चुनावी अभियानलाई जनआन्दोलनकै रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

यसैगरी समानुपातिक उम्मेदवार शारदा परियारले महिला, दलित, जनजाति तथा पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्नु पार्टीको प्राथमिक एजेन्डा भएको बताइन्। उनले समावेशी, समानतामूलक तथा सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि नीति तथा कार्यक्रममार्फत ठोस पहल गरिने प्रतिबद्धता व्यक्त गरिन्। “राजनीतिक पहुँच र अवसरमा समान सहभागिता बिना समृद्धि सम्भव छैन,” उनले भनिन्।

घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले विकास, रोजगारी, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको सुनिश्चिततालाई आफ्नो मुख्य चासोको विषयका रूपमा उठाएका थिए। आयोजकका अनुसार धेरै मतदाताले ‘तारा’ चुनाव चिन्हमा मतदान गरी पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँस्तरमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाएको विश्लेषकहरूको भनाइ छ। आगामी दिनमा पनि विभिन्न बस्तीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने पार्टीले जनाएको छ।