सल्यान ४, फागुन । सल्यानमा अन्य पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढेको छ । पार्टीको निर्वाचन केन्द्रित अभियानलाई थप मजबुत बनाउँदै अन्य पार्टीबाट स्वस्फूर्त रुपमा व्यक्तिहरू पार्टी प्रवेश गरिरहेको नेकपा एमाले सल्यानका नेताहरूले बताएका छन। यसै क्रममा शनिबार जिल्लाको सिद्धकुमाख गाउँपालिकामा चार जना कांग्रेसका नेता एमालेमा प्रवेश गरेका छन । सिद्धकुमाख–४ खारबनका सेतु सुनार, दिल बहादुर रोका, गुमानसिंह सुनार र वीर बहादुर रोका कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन्। एमाले सल्यानका अनुसार, राष्ट्रियताको भावना र विकास निर्माणका क्षेत्रमा एमालेको योगदान बुझेर जिम्मेवार व्यक्तिहरू एमालेमा समाहित भएका हुन ।

नव प्रवेशीहरूलाई स्वागत गर्दै एमाले कर्णाली प्रदेश अध्यक्ष तथा सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गुलाबजंग शाहले समाज विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो। मतदाताहरू समक्ष उम्मेदवार शाहले आफू सानातिना प्रलोभन र आश्वासनमा नपरी सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका लागि इमान्दारपूर्वक काम गर्ने वाचा गर्नु भएको थियो। उहाँले शनिबार नै सिद्धकुमाख–४ को सल्लेरी, सागिने, खारबन, उचाल्ने र वडा नं ५ को छापडाँडा, दह क्षेत्रमा मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नुभयो। भेटघाट कार्यक्रममा एमाले कर्णाली प्रदेश सदस्य जीत बहादुर चलाउने, जिल्ला कमिटी सचिव पुष्पा कुमारी बोहरा, जिल्ला कमिटी सदस्य तथा पालिका निर्वाचन परिचालन कमिटी संयोजक मान बहादुर चलाउने, उपसंयोजक लिलमान रोका, सचिव नन्दलाल वोहरा, जिल्ला सल्लाहकार सदस्य मैकली बुढाथोकी, पालिका कमिटी अध्यक्ष टोप बहादुर बुढाथोकी, उपाध्यक्ष देवेन्द्र रोका लगायतका विभिन्न वडा कमिटी पदाधिकारीहरुको सहभागिता रहेको थियो। यस अघि पनि सल्यानको कपुरकोट, कुमाख र त्रीवेणीका विभिन्न वडाहरूमा विभिन्न पार्टी परित्याग गरि थुप्रै नेताकार्यकर्ता नेकपा एमालेमा समाहित भएका थिए ।

