सल्यान, ३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सल्यान प्रतिनिधिसभा उम्मेदवार गुलाबजंग शाहले चुनावी अभियानका क्रममा विभिन्न सामाजिक तथा पारिवारिक कार्यक्रममा पनि सहभागीता जनाएका छन् ।
जिल्लाका विभिन्न स्थानमा आयोजित शुभ कार्यहरूमा उपस्थित भई स्थानीय नागरिकसँग भेटघाट तथा शुभकामना आदानप्रदान गरिरहेका छन् । छत्रेश्वरी, त्रिवेणि, कालिमाटी, कुमाख, दार्मा, सिद्धकुमाख र बगचौरका विभिन्न वडा, बस्ती र टोलमा पुगेर शाहले भेटघाट गरिसकेका छन् । सो अवसरमा चुनावी भेला, पार्टीका स्थानिय कमिटीको बैठकहरुमा सहभागी बनेका एमाले कर्णाली प्रदेशका अध्यक्ष शाहले शोकमा परेका परिवारहरूसँग भेटघाट गरी समवेदना प्रकट गरेका छन् ।
उम्मेदवार शाहको यस प्रकारको सहभागीता, सक्रियता र चासोलाई स्थानीय बासिन्दाले सकारात्मक रुपमा लिएका छन् । घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका एमाले उम्मेदवार शाहले शुभकार्यदेखि शोक भेटघाटसम्म उपस्थित भई जनतासँग सम्बन्ध सुदृढ बनाउँदै लगेका छन् ।
उम्मेदवार सहित पालिका देखि वडा तथा वस्तिस्तरसम्म चुनावी अभियान चलिरहेको र सम्बन्धित पार्टी कमिटीहरु पनि अभियानमा सक्रियतासाथ लागिरहेको एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए । शरदा, बनगाड, कपुरकोटका वडा अनि बस्तिस्तरमा उम्मेदवार शाहसहित एमालेको चुनावी भेटघाट कार्यक्रमको तय भएको र यस अघि अभियानको क्रममा छुटेका अन्य पालिकाका वडाहरुमा पनि उम्मेदवार पुग्ने एमालेले जनाएको छ ।
शाहले राजनीति पद र प्रतिष्ठाका लागि नभई जनसेवाका लागि भएको भन्दै सल्यान जिल्लाको समग्र विकास, सुशासन र जनजीवनको रूपान्तरण आफ्नो प्रमुख लक्ष्य रहेको जनाएका छन् । कृषि, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, युवा तथा महिला सशक्तीकरण, पर्यटन र सुशासनलाई प्राथमिकतामा राखेर एमाले कर्णालीका अध्यक्ष शाह सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा होमिएका छन् ।
वडा देखि टोल टोल सम्मको मजबुत संगठन, एकताबद्ध पार्टी, विगतमा गठबन्धन विरुद्ध एक्लै चुनाव लड्दा पनि समानुपातिकमा पहिलो दल, तत्कालीन समाजवादीमा लागेका धेरै नेताकार्यकर्ता फर्किसकेको, अन्य उम्मेदवारको तुलनामा अनुभवी, जनमुखी र विकासप्रति स्पष्ट दृष्टिकोण भएको नेतृत्व लगायतका आधारहरु सहित सल्यानमा आफ्ना उम्मेदवारको जित निश्चित रहेको एमाले सल्यानले जनाएको छ ।
