माघ २८, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा आज बिहान (बुधबार) बोलेरो पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आज बिहान करिब ५:३० बजे रुकुम (पूर्व) बाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो पिकअप जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक रुकुम (पूर्व) सिस्ने गाउँपालिका–४ अमलाचौर निवासी ३० वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिपमा सवार अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा सिस्ने गाउँपालिका–२ निवासी २२ वर्षीया सुस्मि रोका , उनकी २ वर्षीया छोरी सफलता केसी सिस्ने गाउँपालिका–४ निवासी ३८ वर्षीया ललिता केसी घाइते भएका छन्।
घाइतेहरूलाई प्रहरीले उद्धार गरी प्रारम्भिक उपचारका लागि कपुरकोट स्थानीय स्वास्थ्य चौकीमा पठाएको थियो। पछि बिहान ७:५५ बजे थप उपचारका लागि तीनै जनालाई प्रादेशिक अस्पताल तुलसीपुर, दाङ रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल प्रहरी चौकी कपुरकोटबाट करिब ५ किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
