सल्यान, २५ माघ । दार्मा गाउँपालिका–३ का संस्थापक वडा अध्यक्ष , जनज्योति माध्यमिक विद्यालय, फारुलाचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टी सल्यान जिल्ला समन्वय समितिका सदस्य सेतिराम रोकाय (शक्ति) को अल्पायुमै अकल्पनीय र अप्रत्याशित निधन भएको छ ।
उहाँको निधनको खबरले शैक्षिक क्षेत्र तथा समग्र दार्मा क्षेत्र स्तब्ध र मर्माहत बनेको छ । सरल, इमानदार, नैतिकवान् र निष्ठावान् व्यक्तित्वका धनी रोकाय जनप्रतिनिधिका रूपमा मात्र नभई सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्थ्यो ।
संस्थापक वडा अध्यक्षका रूपमा दार्मा गाउँपालिकाको स्थानीय शासन सुदृढीकरणमा उहाँले पु¥याउनु भएको योगदान उल्लेखनीय रहेको छ । त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षका रूपमा उहाँले शिक्षाको गुणस्तर अभिवृद्धि र शैक्षिक विकासका लागि निरन्तर भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
भौतिक रूपमा आज उहाँ हामीबीच नरहे पनि दार्माको शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदान सदैव स्मरणीय रहने स्थानीयवासीको भनाइ छ । उहाँको असामयिक निधनले अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघ–संस्था, राजनीतिक दल तथा व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय कमरेड सेतिराम रोकाय (शक्ति) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको निधनले शोकसन्तप्त परिवारजनमा परेको गहिरो दुःखप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।
