माघ २२, सल्यान ।
नेपाली कम्युनिष्ट पार्टी नेकपा सल्यानले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बुधबार दाङको तुलसीपुर र बाँकेको कोहलपुरमामा सम्पर्क समिति भेला तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य प्रकाश ज्वालाले भ्रष्टाचार कुसंस्कार विरुद्ध र सुशासन, रोजगारी र समृद्धिको पक्षमा आफनो पार्टि रहेको बताउदै आफुले पाएको जिम्मेवारी पूरा गर्दै पार्टीका उम्मेदवारलाई बहुमतसहित विजय गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
अर्का केन्द्रीय सदस्य भीमप्रकाश शर्माले वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै सल्यानमा पार्टीले युवा उम्मेदवार अघि सारेको उल्लेख गरे । उनले जिल्लाबाहिर बसोबास गर्ने सल्यानवासीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश मल्ल लाई विजय गराउन सक्रिय रूपमा लाग्न आग्रह गरे।
नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश कुमार मल्लले आफ्नो उम्मेदवारी पार्टी नेतृत्वको महत्वपूर्ण निर्णय, त्याग र जिम्मेवारीको निरन्तरता भएको बताए। उनले जिल्ला बाहिर रहने सल्यानीहरुको सहयो अपरिहार्य रहेको बताए । मल्लले अहिले पार्टीभित्र संगठनात्मक एकता मजबुत बनेको दाबी गर्दै जनताको प्रतिनिधित्वमार्फत समृद्ध सल्यान निर्माण आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे। उनले संविधान निर्माण प्रक्रियामा नेपाली कम्युनिष्ट आन्दोलनको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको स्मरण गर्दै अब विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा ७५ सदस्यीय सल्यान–दाङ निर्वाचन सम्पर्क समन्वय समिति गठन गरिएको छ। समितिको संयोजकमा आशिष मल्ल, सहसंयोजकमा गोविन्द क्षेत्री र सचिवमा कर्णबहादुर ओली चयन भएका छन् ।
त्यस्तै, १७५ सदस्यीय सल्यान–बाँके निर्वाचन सम्पर्क समन्वय समिति पनि गठन गरिएको छ, जसको संयोजकमा ओपेन्द्रनाथ योगी रहेका छन् । बाँकेमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रकाश ज्वाला, उमाकान्त शर्मा, रमेश कुमार मल्ल, महेस्वर महतराज, अथक नरेन्द्र पाण्डे, तिलकराज भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत जिल्लाबाहिर बसोबास गर्ने सल्यानवासी मतदातासँग समन्वय, संगठन विस्तार, चुनावी परिचालनलाई व्यवस्थित बनाउने र पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। आगामी निर्वाचनमा व्यापक जनसम्पर्क, एकीकृत अभियान र मतदाता जागरणलाई तीव्र बनाउँदै नेकपाले सल्यानमा मजबुत राजनीतिक उपस्थिती देखाउने लक्ष्य लिएको बताइएको छ।
