सल्यान २१, माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत नेकपा एमालेको तर्फबाट सल्यान जिल्लाका उम्मेदवार गुलाबजंग शाहको ‘चुनावी भेटघाट र संवाद अभियान’ निरन्तर अघि बढेको छ । अभियान अन्तरगत उम्मेदवार शाहले सल्यानको कालिमाटी गाउँपालिकाका विभिन्न गाउँबस्तीहरूमा मतदाता भेटघाट र प्रत्यक्ष संवाद गर्नुभएको छ भने मतदाताको उत्साहजनक सहभागीता देखिएको छ । मंगलबार उहाँले कालिमाटी गाउँपालिका वडा नं. २ को झिंगने, रामपुर बजार, किसानखोला र वडा नं–३ को चौकी बजार र चौडी क्षेत्रका मतदाताहरू सँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो । गाउँबस्तीहरूमा पुगेर जनताको भावना, अपेक्षा र सुझावहरू सुन्ने क्रममा मतदाताको उत्साहजनक सहभागिता देखिएको अभियानमा संलग्न नेकपा एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले बताउनुभयो । सामाजिक संजालहरू मार्फत नेकपा एमालेप्रति विभिन्न खालका प्रहार भइरहेका बेला जिल्लाको कालिमाटीकाका गाउँ– बस्तीहरूमा भने एमालेप्रतिको लहर, विश्वास र भरोसा अझ मजबुत देखिएको उहाँको भनाइ छ ।

चौडीदेखि रामपुर बजार र किसानखोलासम्म देखिएको व्यापक जनसहभागिता, अपार उत्साह र नेकपा एमालेप्रतिको अटुट विश्वासले सल्यानमा एमालेको लहर बलियो बन्दै गएको र “विकास, सुशासन र समृद्धिको साझा आकांक्षासहित जनताले नेकपा एमालेप्रति व्यक्त गरेको भरोसाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गुलाबजंग शाहको जित सुनिश्चित देखिएको” एमाले कालिमाटी अध्यक्ष केशर बुढाले बताउनुभयो । आज सम्पन्न विभिन्न चुनावी कार्यक्रमहरूमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य दानबहादुर केसी, जिल्ला कमिटी अध्यक्ष भिमबहादुर सेन, उप–सचिव शनसिलता वली डिसी, पार्टीका जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटी अध्यक्ष केशर बुढा सहित पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारीहरू र विभिन्न जनवर्गीय संगठनका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।