प्रतिबद्धतामा कृषि, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, युवा तथा महिला सशक्तीकरण, पर्यटन र सुशासनलाई प्राथमिकतामा राखिएको छ । सल्यानको कृषि सम्भावनालाई निर्यातमुखी बनाउने, बेमौसमी तरकारी, अदुवा, अलैची, किवी, स्याउ, ओखर तथा जडीबुटी खेतीलाई व्यावसायिक बनाउने, कृषकको आम्दानी वृद्धि गर्ने उम्मेदवार शाहको प्रतिबद्धता छ ।
त्यसैगरी, अपूरा सडक, पुल, अस्पताल लगायतका विकास आयोजनालाई सम्पन्न गर्न संघीय तहबाट बजेट व्यवस्थापन गर्ने, दिर्घकालिन महत्वका नयाँ योजना सुरुवात गर्ने, जिल्लामा नियमित विद्युत आपूर्ति सुनिश्चित गर्ने, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ । युवाहरूलाई सल्यानमै राख्न विशेष पहल गर्ने भन्दै शाहले “सल्यानी युवा सल्यानमै” कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । स्थानीय तहदेखि प्रदेशसम्म समन्वय गरी भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने, भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताको नीति लिइने, सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने, युवालाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम अघि बढाएर प्रविधिसँग जोडिएको जिल्ला बनाइने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
यस्तै सूचनाको हकलाई व्यवहारमा लागू गर्दै नागरिकले सजिलै सार्वजनिक सूचना पाउने व्यवस्था मिलाइने, स्थानीय सञ्चारमाध्यम र पत्रकारको सम्मान र सुरक्षामा ध्यान दिइने तथा नियमित जनसंवाद, सामाजिक सञ्जालमार्फत जनताको गुनासो र सुझाव सुन्ने कार्यलाई प्रभावकारी बनाइने पनि शाहको प्रतिबद्धता छ । कार्यक्रममा बोल्दै पार्टी नेताहरूले गुलाबजंग शाह अनुभवी, जनमुखी र विकासप्रति स्पष्ट दृष्टिकोण भएको नेतृत्व भएको भन्दै आगामी निर्वाचनमा विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
