सल्यान, १७ माघ ।
सल्यानमा नेकपा एमालेले निर्वाचनका लागि पार्टी पंक्तिलाई थप प्रभावकारी परिचालन गरिने भएको छ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराउनका लागि निर्वाचन रणनीति, जनसम्पर्क विस्तार र पार्टी संगठन मजबुत शनिबार खलंगामा दुईवटा भेला सम्पन्न भएका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि र राष्ट्रिय युवा संघ नेपालको छुट्टाछुट्टै भेला उम्मेदवार शाहसंगै सम्पन्न भएको र निर्वाचन परिचालनका लागि महत्वपूर्ण निर्णय गरेको नेकपा एमाले सल्यानले जनाएको छ ।
पहिलो भेलामा सल्यानका विभिन्न स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । छत्रेश्वरी गाउँपालिका–५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलामा बोल्ने वक्ताहरूले विकास, सुशासन र स्थायित्वका लागि एमालेको विकल्प नभएको उल्लेख गर्दै घरदैलो अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेका छन् । कार्यक्रमको सञ्चालन शारदा नगरपालिका–४ का वडा अध्यक्ष किहोर हमालले गर्नुभएको थियो ।
यस्तै राष्ट्रिय युवा संघ नेपाल सल्यानले पनि चुनावी परिचालन भेला सम्पन्न गर्दै निर्वाचन अभियानलाई थप गति दिएको छ । भेलाले गुलाबजंग शाह र सिंगो एमालेको विजय सुनिश्चित गर्न प्रभावकारी युवा परिचालन गर्ने निर्णयसहित जिल्लास्तरीय तथा क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
युवा संघका केन्द्रीय सचिवालय सदस्य प्रिन्स बस्नेत संयोजक, जिल्ला अध्यक्ष न्युटन श्रेष्ठ सहसंयोजक तथा उपाध्यक्ष विमल रावत, सचिव दिपक दाहाल, सहसचिव प्रेम घर्ती र निर्मल सिंह सदस्य रहेको जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
यस्तै क्षेत्र नम्बर क तर्फ गोविन्द गिरी संयोजक, र सदस्यहरू धनेश बुढाथोकी, भुपेन्द्र रावल, समयल विक र जितेन्द्र डाँगी तथा क्षेत्र नम्बर ख तर्फ सागर नेपाली संयोजक र एकराज विक, सन्तोष पुन, पोखराज खड्का, पवन बुढाथोकी सदस्य रहेको क्षेत्रीय कमिटी गठन भएको छ ।
भेलामा एमाले जिल्ला अध्यक्ष भिम बहादुर सेन, जिल्ला उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, जिल्ला सचिव पुष्पा बोहरा, अनेमसंघ कर्णाली प्रदेश सदस्य तथा छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री लगायत पालिका कमिटी अध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु, युवा संघका विभिन्न जिम्मेवारीमा रहेका युवाहरुको सहभागिता रहेको थियो ।
पार्टीको संगठनात्मक शक्ति, जनप्रतिनिधि र युवाशक्ति एकढिक्काका साथ अघि बढेको र विकासप्रेमी, अनुभवी र प्रभावशाली नेतृत्व गुलाबजंग शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा परिचालित भएको एमाले सल्यानले जनाएको छ ।
