१७ माघ, २०८२
विरेन्द्र नगर, सुर्खेत ।
सवैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको प्रदेश स्तरीय अर्धवार्षिक प्रगति समीक्षा, पृष्ठपोषण र आर्थिक वर्ष ०८३।०८४ को प्रारम्भिक वार्षिक योजना तर्जुमामाथि छलफल तथा सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विहिबारदेखि विरेन्द्र नगर सुर्खेतमा आयोजित तीन दिने अर्धवार्षिक समिक्षा, सिकाई आदानप्रदान र योजना तर्जुमा कार्यक्रममा सुस्वा आयोजना लागू भएका कर्णाली प्रदेशका २८ वटै पालिकाहरुको सहभागिता रहेको थियो । समीक्षाको क्रममा पालिका वास संयोजकहरुबाट आ–आफ्नो पालिकामा भए गरेका क्रियाकलापको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरी आयोजना सहयोग इकाईको तर्फबाट हालसम्मको प्रगतिको तथ्याँक विवरण (MIS) सल्लाहकार छत्र चौधरीबाट प्रस्तुत गरिएको थियो । प्रगति प्रतिवेदन संगसंगै परियोजनाको उदेश्य र लक्ष्य प्राप्तिका लागि आगामी कार्ययोजना के कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा विस्तृत छलफल गरिएको छ । छलफल तथा कार्यशाला गोष्ठिमा मुख्य प्राविधिक सल्लाहकार (CTA) मारियो मिलानेसी, डेपुटी टिम लिडर (DTL) मान बहादुर वि.के., प्राविधिक विज्ञ नारायण सिंह खवास, सुशासन विज्ञ निराजन श्रेष्ठ, सरसफाई तथा स्वच्छता विज्ञ गोविन्द रोकाय, जेडसी विज्ञ राजु तिर्वा, सेवा सहायता केन्द्र इन्द्र राज बडु लगायतबाट सहजीकरण र मार्गनिर्देश गरिएको छ । समीक्षा तथा कार्यशाला गोष्ठिमा सेवा सहायता केन्द्रको प्रभावकारीता, वास इकाईको निरन्तरता, सुस्वा आयोजनाको वहिर्गमन रणनीति, खानेपानी आयोजनाहरुको दिगोपनाका लागि भएका प्रयाशहरु, कार्यविधिहरुको निर्माण तथा प्रभावकारी कार्यान्वयन, व्यबहार परिवर्तनका लागि भए गरेका असल अभ्यासहरु लगायत विषयमा विस्तृत छलफल गरिएको छ ।

सुस्वा आयोजना कार्यान्वयको यो चौथो वर्ष रहेको र यस वर्ष लक्ष्य प्राप्तिका लागि खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी क्रियाकलापहरु बढी भएकोले सोहि बमोजिम कार्यान्वयन प्रक्रिया छिटोछरितो तथा प्रभावकारी बनाउनुपर्ने निष्कर्ष रहेको छ र आगामी वर्ष आयोजनाको वहिर्गमनको वर्ष रहेकोले आयोजनाको दिगोपनाका लागि गरिने क्रियाकलापहरु बाहेक ठूला तथा नयाँ आयोजनाहरु त्यति धेरै कार्यान्वयन हुन नसक्ने बताईएको छ । सुस्वा आयोजना नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन, स्थानीय सरकार र योजना सञ्चालित क्षेत्रका समुदाय समेतको लागत सहभागितामा काम गर्ने गरी लागू भएको परियोजना हो । अधिकारमूखि अवधारणाको विकास संगसंगै खानेपानी तथा सरसफाई योजनाहरु निर्माण, मर्मत तथा सुधार गर्ने उदेश्यले कर्णाली प्रदेशका १० जिल्लाका ४२ पालिकाहरुमा पुग्ने लक्ष्य सहित सन २०२१ देखि सञ्चालन भएको हो ।

सुस्वा आयोजना सन २०२१ नोभेम्बर (२०७८ कार्तिक) देखि प्रारम्भ भएको भएता पनि विशेष गरी फिनल्याण्ड सरकारले सन १९८९ देखि नेपालमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकासमा उपलब्ध गराउदै आएको आर्थिक तथा प्राविधिक सहयोगको निरन्तरता हो । सुस्वा आयोजनाका तीन वटा परिणाम क्षेत्र अन्तर्गत परिणाम क्षेत्र १ अन्तर्गत कार्यक्षेत्रका पालिकाहरुमा वास सेवा र लैंगिक, अपांगता तथा सामाजिक समावेशिकरणका लागि सक्षम÷सवल वातावरण र शासन सुदृढिकरण गर्ने उद्धेश्य रहेको छ । आयोजनाको परिणामक्षेत्र २ अन्तर्गत खानेपानी योजनाहरु निर्माण, मर्मतसम्भार तथा सुचारु गरेर २ लाख ६२ लाख ५०० जनसंख्याको लागि जलवायु उत्थानशिल, सुरक्षित र नियमित खानेपानी आपूर्ति गर्ने लक्ष्य रहेको छ । परिणामक्षेत्र ३ अन्तर्गत दिगो सरसफाई तथा स्वच्छता र मर्यादित महिनावारी व्यवस्थापनका लागि ३ सय वटा संस्थागत शौचालय निर्माण तथा सुधार गर्ने र यसबाट ४ लाख ८३ हजार ६०० जनसंख्या लाभान्वित हुने लक्ष्य बमोजिम विभिन्न क्रियाकलापहरु अगाडि बढाईएको छ ।