२७ पौष २०८२ सल्यान ।

सातामुल बरहा क्षेत्रमा यही माघ १ गते माघी मेलाको अवसरमा विशेष पूजा–आजा, भौतिक संरचनाको उद्घाटन तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रममा बरहा संरक्षण तथा व्यवस्थापनका लागि ५ हजार रुपैयाँदेखि माथि सहयोग गर्ने सहयोगी दाताहरूलाई टिका, माला तथा प्रेम सहितको सम्मानपत्र प्रदान गरी सम्मान गरिने आयोजकले जनाएको छ । आफ्नो जन्मदिन (बर्थ डे) तथा वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न महानुभावहरूले दिएको सहयोग रकमबाट हालसम्म २ लाख ८५ हजार रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको सातामुल बरहा क्षेत्र उत्थान संयोजक तथा वडा अध्यक्ष श्यामकृष्ण बोहराले जानकारी दिएका छन् ।

फलामे पिङ निर्माण कार्य प्राविधिक कारणवश माघ १ गते उद्घाटन गर्न नसकिने जानकारी गराउँदै पिङ उद्घाटनमा केही समय लाग्ने बताइएको छ । यद्यपि पिङ निर्माणमा सहयोग पुर्‍याउने दाताहरूलाई भने सोही दिन सम्मान गरिने जनाइएको छ ।

माघी मेलाको अवसरमा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकले सम्पूर्ण भक्तजन, दर्शक तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ ।