भदौ ३०, २०८२ सोमबार
काठमाडौं, नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उद्योगहरूबाट विद्युत महशुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा रहेका बेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्ने भन्दै उहाले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिइएको उल्लेख गरे ।
उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए । पुनः निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै उनले आफू द्रुत गतिमा देशको सेवामा लाग्ने बताए । उनले सार्वजनिक संरचनामा भएको क्षतिको आंकलन गर्दै तत्कालै पुननिर्माणको काम तत्काल अघि बढाइने धारणा राखे ।
मन्त्री घिसिङले पुनःनिर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा विशेष कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे । मन्त्री पदमा रहँदा आफूले पाउने सबै पारिश्रमिक कोषमा दाखिला गर्ने उनको भनाइ छ । घिसिङले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गरिने बताए ।
उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे । मन्त्री घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
