भदौ ०९, सल्यान । नेपाली हिन्दू नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजु आज सोमबार देखि सुरु हुँदैछ । तीजको व्रत सुरु हुनु अघिल्लो दिन ‘दर’ खाने परम्परा रहेको छ । दर खाएपछि नै तीजको विधिवत् सुरुवात भएको मानिन्छ । तीजको मूल दिन भोलि मंगलबार परेको छ । त्यस दिन महिलाहरू निराहार व्रत बस्ने भएकाले आज राति अबेरसम्म शक्तियुक्त भोजन गरेर शरीरमा ऊर्जा कायम राख्ने परम्परा छ । परम्पराअनुसार माइती पक्षले चेली–बेटीलाई बोलाई विभिन्न मीठा–मीठा परिकारले भरिएको दर खुवाउने चलन छ । दरमा विशेषगरी दूध, घ्यू, मेवा आदिबाट बनेका शुद्ध र पौष्टिक परिकारहरू समावेश गरिन्छ । तीजको व्रत महिलाहरूको आत्मशुद्धि, पति सुख–समृद्धिका लागि, र अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्दै बस्ने धार्मिक विश्वास रहेको छ। व्रतका दिनको कठिन उपवासलाई सहज बनाउन दर खाने संस्कार लामो समयदेखि प्रचलनमा रहँदै आएको छ।
