भदौ ०९, सल्यान । लागुऔषध दुव्र्यसनको जोखिम बढ्दै गएपछि सल्यानको कुमाख गाउँपालिकास्थित एक विद्यालयमा लागुऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । अस्थायी प्रहरी चौकी चोरपानी र सामाजिक अभियन्ता खिम डि।सी।को संयुक्त पहलमा कुमाख–७, सानिजिमालीमा रहेको जनता आधारभूत विद्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत ५० जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागूऔषध सेवनको असर, यसको कानुनी पक्ष र सामाजिक परिणामबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा उपस्थित अस्थायी प्रहरी चौकी चोरपानीका प्रमुख नमराज थापा मगरले विद्यालयस्तरबाटै लागुऔषधविरुद्ध सचेतना फैलाउनु अत्यावश्यक रहेको बताए। “विद्यार्थीहरूलाई सुरुवातदेखि नै सचेत गराउन सके उनीहरूलाई कुलतमा फस्नबाट जोगाउन सकिन्छ,” थापा मगरले भने । उनले लागुऔषध प्रयोग तथा ओसारपसारको सन्देह लागेमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै समुदायकै सहकार्यमा मात्रै यो समस्या नियन्त्रणमा ल्याउन सकिने धारणा राखे । कार्यक्रममा सामाजिक अभियन्ता खिम डि।सी। ले १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू लागुऔषध दुव्र्यसनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विद्यालय, अभिभावक र समुदाय मिलेर नै दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। “यस्ता कार्यक्रमहरू विद्यालयमा नियमित सञ्चालन हुन जरुरी छ,” उनले भने ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अकबर बोहराले यस्ता चेतनामूलक कार्यक्रमहरू युवाहरूलाई गलत बाटोबाट जोगाउन प्रभावकारी हुने भन्दै धन्यवाद ज्ञापन गरे ।कार्यक्रमको अन्त्यमा सहभागी अधिकांश विद्यार्थीहरूले लागुऔषधबाट टाढा रहने प्रतिबद्धता जनाए भने अरूलाई पनि यसको दुर्व्यसनबाट जोगाउने संकल्प व्यक्त गरेका थिए ।
