सल्यान, साउन २८ ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सल्यानको शारदा नगरपालिका–१२ स्थित रेशम जिउलामा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । साउन ३१ गते आयोजना गरिने उक्त कार्यक्रममा कला, संस्कृति, परम्परा र स्थानीय मौलिकता जगेर्ना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।
कार्यक्रम शारदा नगरपालिका–१२ नं. वडाको आयोजना र स्थानिय युवाहरुको अगुवाइमा गरिँदैछ । कार्यक्रममा चर्चित लोकदोहोरी गायक शक्ति चन्द, हास्य कलाकार कुलबहादुर ओली लगायतका राष्ट्रिय स्तरका कलाकारहरू प्रस्तुती रहनेछ । तेस्तै कलाकार गिता खड्का, मात्रिका प्रकाश डि.सी, कमल खड्का र मनिराम बुढाथोकी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । साथै, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानका कलाकारहरु र स्थानिय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । तेस्तै स्थानिय लाखे नाँच, सोरठी नाँच, ढोटो नाँच, मारुणी नाँच ताथा लोक नृत्य, महिला समुहको पन्चेवाजा, झाँकी, नाचगान र विविध सांस्कृतिक झलक मार्फत मौलिक पहिचान उजागर गरिने जनाइएको छ ।
वडा अध्यक्ष सुरेन्द्र बुढाका अनुसार, हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको यस कार्यक्रमले स्थानिय तहमा सांस्कृतिक चेतना फैलाउने, नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति र परम्पराबारे जानकारी दिने, र मनोरञ्जनको माध्यमबाट सामाजिक एकता कायम राख्ने भूमिका खेल्ने छ । साथै कार्यक्रमले वडा नं १२ अन्तर्गतका बस्ति, समुदाय, जात जातीका प्रचलित मौलिक कला, संस्कृति परम्पराहरुको गौरवमय पहिचान झल्कीन सहयोग पुग्ने उहाँले बताउनु भयो ।
“हामीले यो कार्यक्रम केवल रमाइलोको लागि मात्र होइन, हाम्रो मौलिक संस्कृति, भेषभूषा र परम्परा जगेर्ना गर्ने हेतुले आयोजना गर्दै आएका छौं,” अध्यक्ष बुढाले भन्नु भयो । “यसपालिको कार्यक्रमलाई अझ व्यवस्थित र समावेशी बनाउने प्रयासमा छौं । सबै वडावासीलाई सहभागी गराउने गरी तयारी गरिएको छ,” उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा स्थानिय लोक झाँकी, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका प्रस्तुति, भजन, नृत्य, हास्यव्यंग्य लगायतका विविध विधाहरू समावेश गरिनेछ । कार्यक्रममा महिलाहरूको समूह नृत्य, महिला समुहहरूको पञ्चेबाजा प्रदर्शन, बालबालिकाको श्रीकृष्णको स्वरूपमा झाँकी प्रदर्शनी जस्ता आकर्षक गतिविधिहरू समेत हुने आयोजकले जानकारी दिएका छन् ।

धार्मिक आस्था र सामाजिक सद्भावको संगम

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मावलम्बीहरूको लागि अत्यन्त श्रद्धा, भक्तिभाव र उत्सवको दिन हो । शारदा–१२ मा हुन लागेको यस्तो सांस्कृतिक कार्यक्रमले धार्मिक आस्था, सामुदायिक सहभागिता, सामाजिक सद्भाव र सहिष्णुता प्रवद्र्धन गर्नेछ ।

कार्यक्रममा सहभागी हुन वडावासीहरूलाई मात्र नभई आसपासका सबै स्थानीय तहका नागरिकलाई समेत आमन्त्रण गरिएको छ । “हामी सबैलाई जोड्न चाहन्छौं, हाम्रो साझा पहिचान र संस्कारको जगेर्ना हामी सबैको दायित्व हुने” आयोजकले जानकारी गराएको छ ।

शारदा नगरपालिका–१२ मा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिन लागेको यस प्रकारको सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जनको लागि नभई संस्कृति, धर्म, समाज र पहिचानको सशक्त अभिव्यक्तिका रूपमा स्थापित हुने देखिन्छ । स्थानीय तहबाट यस्ता पहलहरू निरन्तर भइरहँदा सांस्कृतिक रूपान्तरणलाई सही दिशा दिन र भविष्यको पुस्तालाई आफ्नो मौलिकता भुल्न नदिने कार्यमा यसको विशेष योगदान रहने निश्चित छ ।