२७ श्रावण कपुरकोट सल्यान
“दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने मूल नाराका साथ २६औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२५ कपुरकोट गाउँपालिकामा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

सामाजिक तथा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षता रहेको थियो ।
विशिष्ट अतिथि उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, परियोजना प्रतिनिधि गुमानसिं नेपाली, प्रकाश वली, शाखा प्रमुखहरू तथा स्थानीय युवाहरूको सहभागिता थियो ।
कार्यक्रममा “सुशासनका लागि युवाको भूमिका” विषयमा खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू सहभागी बनेका प्रतियोगितामा प्रथम हुनेलाई रु ३,०००, द्वितीयलाई रु २,०००, तृतीयलाई रु १,५०० र सान्त्वना स्थान हासिल गर्नेलाई रु १,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा:
• प्रथम: हुकुम बहादुर विश्वकर्मा (वडा नं ५)
• द्वितीय: सपना खड्का (वडा नं ५)
• तृतीय: प्रभा खड्का (वडा नं ५)
• सान्त्वना: अस्मिता खड्का (वडा नं ३)

कार्यक्रममा बोल्दै गापा अध्यक्ष दुर्गा बहादुर पुनले “युवाशक्ति नै राष्ट्रको मेरुदण्ड हो । दिगो विकासका आधारशिला राख्न युवाहरूले आफ्नो क्षमता, सीप र सिर्जनशीलतालाई समाजको हितमा लगाउन आवश्यक छ । सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वमा युवाको अग्रणी भूमिका रहनुपर्छ । गाउँपालिकाले युवाका लागि नीतिगत व्यवस्था र अवसरको सुनिश्चितता गर्न निरन्तर पहल गर्दै जाने बताउनु भएको थियो ।

उपाध्यक्ष प्रकाश भण्डारीले “स्थानीय स्तरमा युवालाई नेतृत्वमा ल्याउने वातावरण बनाउन हामी प्रतिबद्ध छौं । विशेषगरी महिला युवाहरूको सहभागिता र अधिकार सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो ।”
उहाँले मन्तव्यकै क्रममा महिला अधिकार र लैङ्गिक समानतासम्बन्धी उर्जावान गजल प्रस्तुत पनि गर्नु भएको थियो । जुन गजलको केहि हरफ यस्ता छन ।
“चुलो र चौकि कति गर्छ्यौ उठन ठुलदिदि,
लोग्ने कै भर कति पर्छ्यौ जुटन माइलिदि ।
आधा धर्ति रमाउदा आधा धर्ति रुनु पर्ने,
आशु सङ्गै कति झर्छ्यौ पुछन साइलीदिदि।”

प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले “युवाको सशक्तिकरण नै समाजको दीर्घकालीन समृद्धिको आधार हो । राज्य र स्थानीय तह दुवैले युवालाई अवसर, सीप र नेतृत्वका अवसर प्रदान गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जिवराज खत्रीले गर्नु भएको थियो ।

