साउन २३, सल्यान ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले वर्तमान मुलुकको राजनीतिक र आर्थिक अवस्थाबारे गम्भीर चर्चा गर्दै समाजवादको आधार निर्माणका लागि सुशासन र रोजगारीलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए । उनले भने, समाजवादको मूल आधार भनेको जनताको जीवनस्तर सुधार हो । त्यसका लागि भ्रष्टाचारको अन्त्य, स्थानीय स्तरमा सुशासनको कार्यान्वयन, र युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउनु हाम्रो प्रमुख एजेण्डा हो ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) सल्यानद्वारा आयोजित “सुशासन र रोजगारी ः समाजवादको तयारी“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “हामीले समाजवादको सपना देखेका छौं भने त्यो सपना कार्यान्वयनमा रूपान्तरण गर्नुपर्ने आधार सुशासन र रोजगारी नै हो । जबसम्म राज्यका संरचना जनताप्रति उत्तरदायी हुँदैनन्, बेरोजगार युवाले आफ्नै देशमा बसेर जीवनयापन गर्न सक्ने अवस्था हुँदैन, तबसम्म योजना र प्रतिबद्धता दुवै अधुरा हुन्छन् ।”
कार्यक्रममा सांसद ज्वालाले सरकारद्वारा रोजगारीका नाममा सञ्चालन गरिने अधिकांश कार्यक्रम कागजी मात्रै रहेको उल्लेख गरे । “स्थानीय तहदेखि संघीय सरकारसम्म गम्भीर समीक्षा र सुधारको खाँचो छ,” उनले थपे,
उनले राजनीतिक नेतृत्वले निर्णय गर्ने र प्रशासनले त्यसलाई कार्यान्वयन गर्ने भए तापनि दुबै पक्ष इमानदार नभए जनताको भरोसा गुम्ने र समाजवाद पनि सधैंको लागि नारामा सीमित हुने चेतावनी दिए ।

“समाजवाद भनेको जनताको भरोसामा टिकेको शासन प्रणाली हो, जहाँ सेवा, न्याय र अवसर सबैका लागि समान हुन्छ,” भन्दै ज्वालाले स्पष्ट पारे । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, केन्द्रिय सदस्य भद्रसिंह बुडा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य हरिप्रकाश बुढाथोकी, नेकपाका पोलिटब्युरो सदस्य मोहनलाल चन्द, र राप्रपाका नेताहरूको सहभागिता रहेको थियो ।
वक्ताहरूले समाजवादको कार्यान्वयनका लागि स्पष्ट नीतिगत दिशा, प्रशासनिक सुधार, दलहरूबीच सहयोग, युवाको सक्रिय परिचालन र समान पहुँचयुक्त सेवा वितरण अनिवार्य भएकोमा जोड दिए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ठकनप्रसाद शर्मा, सल्यान उपाध्यक्ष सन्तोष राईलगायत नेताहरूले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रम नेकपा (एकीकृत समाजवादी) सल्यान अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा भएको थियो । नेता सिपि वलीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचीव प्रेमबहादुर डाँगीले गरेका थिए ।