योग, साधना, प्रार्थना, तपस्या, भक्ति, जागृत, सप्ताह, महायज्ञ, विपस्यना, सत्संग, गुरुकुल जस्ता विषय नेपालभूमिका लागि नयाँ होइनन् । तर जब राम्रो कार्यको प्रयोग संकटका बखत गरिन्छ तव उक्त कार्यको उपादेयता थप पुष्टी हुन्छ भन्ने सत्य कोभिड १९ को अवधिमा सावित भयो । प्रत्यक्ष वा भर्चुअलरुपमा गरिएका साधना कक्षामा सहभागी भएर धेरैको जीवन बच्यो र सन्तुलित पनि हुन सक्यो । त्यसैले योगसाधना र ध्यानको महत्व विश्वव्यापीरुपमा बढेर जानुमा कोभिड महामारी जिम्मेवार छ भन्दा फरक नपर्ला । तत्पश्चात योग तथा ध्यानमा सहभागिता बढेर गएको छ । पूर्वीय साधनाको उदगमस्थल समेत रहेको मानिने नेपाल भूमिमा रहेर हामी नेपालीले योगसाधना किन गर्नुपर्दछ भन्ने सम्वन्धमा यो आलेखमा संक्षिप्तरुपमा चर्चा गरिएको छ । हामीले योगसाधना गर्नुपर्ने कारणलाई ७ वटा समूहमा राखेर विश्लेषण गर्न सकिन्छः
१. अहिले व्यक्ति शान्त छैन, अधैर्य छः आम मान्छेको कुरा गर्दा पहिले पहिले भन्दा ऊ कम खुशी छ बढी दुःखी छ, शान्त कम र अशान्त बढी छ । व्यक्तिलाई शान्त राख्न र असल चिन्तन गर्न सक्षम बनाउनका लागि पनि योगसाधना आवश्यक छ ।
२. मनको सफाई आवश्यक छः हामीहरु शरिर अर्थात तनको सफाईमा समय दिन्छौँ, शरिरलाई सजाउछौँ पनि । तर हामीलाई गाइड गर्ने मनलाई भने त्यति वास्ता गर्दैनौँ । मनलाई सन्तुलनमा राख्ने र विचार तथा चिन्तनका माध्यमले आफ्नो जीवनको लक्ष्य हाँसिल गर्दै खुशी भएर बाँच्नका लागि मनको सफाई तथा मनको समुचित प्रयोग गर्ने कला आवश्यक पर्दछ । त्यो भनेको प्राणायम् र ध्यान सहितको साधना नै हो । नियमित जस्तो साधना गरेको खण्डमा मन पनि सफा भएर क्रियाशील तथा सही मार्गमा हामीलाई गाइड गर्न सफल हुन्छ ।
३. श्रम गर्ने प्रवृत्ति घटेको छः हाम्रो शरिरको संरचना र कार्यप्रणाली हिँडडुल गर्नुपर्ने, श्रम गर्नुपर्ने पसिना निकाल्नुपर्ने, स्वाश बढ्नुपर्ने खालको छ । तर हामीहरु आरामदायी जीवन जिउन खोज्यौँ भने प्रकृतिभन्दा विपरित हुन्छ । तसर्थ शरिरलाई थकाउनका लागि पनि शरिर सञ्चालनका प्रकृयासहित योग प्राणायम् आवश्यक पर्दछ ।
४. कम उमेरमै पनि रोगी बन्ने क्रम बढेको छः आजकल मुटुको रोग, मधुमेह जस्ता रोग लाग्न उमेर पाको हुन पर्दैन । आँखा कमजोर हुन त सानैमा शुरु हुन्छ । सर्नेभन्दा नसर्ने रोग लाग्ने क्रम बढेको छ भने खानपान आहारविहारसँग स्वास्थ्यको सम्वन्ध झन कसिलो भएको छ । माथि नै भनियो कि सानै उमेरमा व्यक्ति अशान्त हुने अधैर्य हुने डिप्रेसनमा जाने क्रम बढेको छ । त्यसैले सानै उमेरदेखि र विद्यालय देखि नै योगध्यान र साधनाको प्रयोग व्यापक बनाउनु आवश्यक छ ।
५. पूर्ण स्वास्थ्य अर्थात आरोग्य हाम्रो पहिचान हुनुपर्दछः पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक, मनोवैज्ञानिक सवै पक्ष सही स्थानमा रहनुपर्दछ । वोली र व्यवहारवीच तालमेल हुनुपर्दछ । साइड इफेक्ट रहनु राम्रो मानिदैन । यी सबै उपलव्धीको लागि नियमित योगसाधनाको प्रयोग सुरक्षित र सुनिश्चित उपाय हो ।
६. रोग लाग्न नदिने उपायका रुपमाः स्वास्थ्य उपचारका धेरै विधि रोग लागेपछि विभिन्न ट्रायल एण्ड इरर विधि अपनाएर रोगको असर कम गर्ने भन्ने छ । कतिपय रोग त लागेपछि घातक खालका पनि छन् । त्यस्तै उपचार पद्धति नै जटिल भएका महँगा उपचार पनि छन् । तर योग तथा ध्यानको साधना अवलम्वन गर्नु भनेको पहिलो त रोग लाग्ने नदिने हो भने दोश्रो भनेको रोग लागिसकेको छ भने पनि त्यसको असर बढ्न नदिने र नियन्त्रणमा राख्ने तथा क्रमश निको गराउने हुन्छ । योग साधना त जतिनै आधुनिक वा सम्पन्न देश छ भने पनि आधारभूत रुपमा लिन थालिएको छ । नाम चलेका व्यापारी, राजनैतिक नेताहरु, खेलाडी लगायतले पनि योगध्यान गर्ने गरेको विवरण सार्वजनिक हुने क्रम बढेर गएको छ ।
७. भित्री यात्रा र अवचेतन मनको सदुपयोगः व्यक्ति आफ्ना पञ्चकर्मेन्द्रीयको प्रयोग गरेर जीवनयापन गर्दै अगाडि बढ्छ । तर आँखा हेरेर भन्दा आँखा बन्द गरेर धेरै विषय समेटिने र आन्तरिक अवस्थाको वोध हुने हुन्छ । आफ्नो भावना वा अनुभूतिको सही पहिचान, विश्लेषण तथा व्यवस्थापन हुन्छ । यो भित्री यात्रा गर्ने कलाको विकासका लागि पनि मौन रहने र आँखा लगायतका इन्द्रीयहरु निष्क्रिय राख्ने काम अति नै गहिराईमा पुग्ने तरिका मानिन्छ । त्यस्तै हाम्रो मस्तिष्कको बनावट र कार्यप्रणाली बुझ्ने हो भने हामीहरुले धेरै प्रयोग गर्ने गरेको चेतन मस्तिष्कभन्दा पनि कैयौँ गुना शक्तिशाली अवचेतन मस्तिष्कलाई के कसरी प्रयोग गर्ने भन्ने विषय पनि योग ध्यान र प्राणायम्को अभ्याससँग सम्वन्धित छ । राति निदाउनु अघि र विहान निद्रा खुल्नासाथ गरिएका प्रणहरु बलिया हुन्छन् । त्यस्तै प्राणायम् गर्दैगर्दा कुम्भक वा रेचक गरेकै बेलामा संकल्प लिनु राम्रो मानिन्छ । सकरात्मक चिन्तनको प्रयोग, उच्च ऊर्जायुक्त शब्द वा बोलीको चयन गर्नु, विगत वा भविष्यमा नभै बर्तमाना रमाउने र आफुले गर्ने गरेको कामलाई मन पराएरै सफल ढंगले परिणाममा पुर्याउने जस्ता विषयले व्यक्तिलाई सिर्जनात्मक र ऊर्जाशील बनाउँदछ ।

अन्त्यमा, योगध्यान साधना गर्न उमेर बाधक हुँदैन तर यदि समयमै सिकिएन र जीवनपद्धतिमा ढाल्न सकिएन भने वृद्धअवस्थामा त सिक्न र बानी लगाउन समेत धौ धौ हुन्छ । त्यस्तै शरिरमा रहेको कुण्डलिनी ऊर्जा जगाउन र सही रुपमा प्रयोगका लागि उध्र्वगमनको कला सिक्नका लागि पनि योगध्यान तथा चक्रसाधना आवश्यक पर्दछ । सारमा भन्नुपर्दा मनलाई विचलित हुन नदिई शरिर, मन र आत्माको शुद्धिकरण, अभ्यास र पूर्णरुपमा होसमा आउनका लागि योगसाधना निकै नै प्रभावकारी विधि हो । समय क्षणभंगुर छ, कुनै पनि अनुभुति र भोगाई अनित्य छ भन्ने गहिरो वोधका लागि पनि योगसाधना सहयोगी हुन्छ । जीवनलाई वैज्ञानिक ढंगले अगाडि बढाउन तथा आफ्नो लक्ष्य प्राप्तिको लागि पनि साधनासहितको जीवनशैली सहयोगी हुन्छ । विहान ब्रम्हमुहुर्तमा उठ्ने र योगसाधनामा समय दिने गरौँ अनि मात्र सिंगो दिन ऊर्जामय बन्दछ । सूर्य नमस्कार, चन्द्रनमस्कार, पृथ्वी नमस्कार लगायत प्राणायम र ध्यानका विभिन्न विधिहरुले हामीलाई पर्खिरहेका छन् । सल्यान खलंगामा रहेको आयुर्वेदको हलमा पनि नियमित योगसाधना हुने गर्दछ । आउनुहोस् दैनिकरुपमा योगसाधनामा रमाऔँ, आरोग्यता हाँसिल गरौँ ।

 

लेखक – नेत्र सुवेदी (प्रयास)
सल्यान जिल्लामा प्रमुख जिल्ला अधिकरी हुनुहुन्छ ।