सल्यान, ११ साउन ।

पुस्तकालय मार्फत बालबालिकामा पढ्ने बानी र पठन सीप विकास गरी सिकाइलाई रोचक र प्रभावकारी बनाउन सामुदायीक विद्यालयमा दक्ष जनशक्ति तयार गर्नका लागि सल्यानमा पुस्तकालय व्यवस्थापन तथा पुस्तकालय प्रयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । चार स्थानीय तहका शिक्षक एवम् साक्षरता श्रोत व्यक्तिहरुका लागि आयोजना गरिएको तालिमको आइतबार शारदा नगरपालिका स्थित बरलामा एक कार्यक्रमकाविच उद्घाटन गरिएको हो । उद्घाटन सत्रका प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, कार्यक्रम आयोजक, प्रशिक्षक तथा सहभागीहरूले आआफ्ना साथमा रहेका पुस्तक खोलेर केही समय पढ्ने कार्य गरेर तालिमको औपचारिक सुरुवात गरेका थिए । पठन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुस्तक बढेर तालिमको उद्घाटन गरिएको साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए । स्थानीय तहहरुसंगको साझेदारी, रुम टु रिडको सहयोग एवं दलित विकास समाज सल्यानको आयोजनामा सञ्चालित चार दिने तालिममा बनगाड कुपिण्डे नगरपालिकाबाट ६ जना, छत्रेश्वरी गाउँपालिकाबाट ५ जना, त्रिवेणी गाउँपालिकाबाट ४ जना र बागचौर नगरपालिकाबाट एकजनाको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष बुढाथोकीले साक्षरता कार्यक्रमले जिल्लामा राम्रो काम गरेको भन्दै पुस्तकालय व्यवस्थापन, कक्षा कोठा व्यवस्थापनका क्षेत्रमा र शिक्षकहरुलाई थप दक्ष बनाउनका लागि प्राथमिकतासाथ काम गरिरहेको उल्लेख गरे । उनले भने, “हाम्रो पालिकाका थप ९ वटा बिद्यालयमा यस बर्षदेखी साक्षरता कार्यक्रम विस्तार गर्दैछौँ ।” यस अघि छत्रेश्वरीमा ६ विद्यालयका कक्षा १ र २ मा बालमैत्री बसाई व्यवस्थापन र ६ वटा पुस्तकालय स्थापना गरिएको तथा शैक्षणिक तथा पुस्तकालय व्यवस्थापन सम्बन्धी शिक्षकलाई पेशागत तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलले शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ आँफुहरुले काम गरिरहेको भन्दै स्थानीय तहहरुसंगको साझेदारीलाई बढावा दिँदै सबै सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम विस्तारका लागि प्राविधिक सहयोग प्रदान गर्न तयार रहेको बताए । दलित विकास समाज सल्यानका अध्यक्ष हेमराज विकले सामुदायीक विद्यालयमा प्रारम्भीक तहका बालबालिकाको पठन सिपमा गुणात्मक सुधार गर्नका लागि साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए । तालिममा पुस्तकालयको महत्व, व्यवस्थापन, सञ्चालन प्रक्रिया, बालमैत्री पुस्तकालय व्यवस्थापन तथा प्रयोग र पठन संस्कृतिको प्रवद्र्धन जस्ता विषयमा प्रशिक्षण दिइने रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेल, गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खडग शाही, पत्रकार महासंघ सल्यानका सल्लाहकार शंकर केसी लगाएतको सहभागिता रहेको थियो । साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयमा स्थापना गरिएका पुस्तकालयले बालमैत्री वातावरणमा पहुँचयोग्य र आकर्षक सामग्री उपलब्ध गराई शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुर्याएको सम्बन्धीत विद्यालयका शिक्षक तथा अभिभावकहरुको भनाई छ ।