सल्यानको कुमाख गाउँपालिका–७ जिमाली दलित बस्तीका ३३ वर्षीय डिल्लीबहादुर विकको भारतमा हृदयघातका कारण निधन भएको छ । उनी करिब ७ वर्षदेखि महाराष्ट्र राज्यको जलगाउँ भुसावलस्थित एक होटलमा सेफको रूपमा काम गर्दै आएका थिए ।सोमबार बिहान ११ बजे होटलमा काम गरिरहेको अवस्थामा डिल्लीको मुटु दुखेपछि उनी नजिकैको औषधी पसल पुगेका थिए । उपचारका लागि त्यहाँ पुग्दा डाक्टरले पहिले खाना खाएर औषधी खान सुझाएका थिए तर खाना नखाई उनी बेहोस भए । बेहोस हुँदा उनको मुखबाट फिज निस्किएको बताइएको छ ।

बेहोस भएका डिल्लीलाई साढे २ बजेतिर स्थानीय ग्रामिण रुग्णालय ट्रमा केयर सेन्टर भुसावल लगिएको थियो । अस्पतालले दिउँसो ३ बजे उनलाई मृत घोषणा गरेको र पोष्टमार्टमपछि उनको शव नेपाल ल्याउने तयारी भइरहेको मृतकका आफन्त तिलक विकले जानकारी दिए ।

डिल्ली विक परिवारका एकमात्र कमाइ स्रोत थिए । पाँच महिना अघि मात्रै उनी घर आएर परिवारका लागि कमाउन पुनः भारत फर्किएका थिए । उनको निधनले घरमा आमा, श्रीमती र दुई छोरीहरू अब बेसहारा भएका छन् । मृतक विक भारतमा भिनाजु निमबहादुर विक र छिमेकी टेकबहादुर विकसँगै होटलमा काम गरिरहेका थिए ।