सल्यान, बागचौर १८ असार । सरकारले सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा तथा रत्नमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लागू गरेपछि त्यसको विरोधमा सल्यानको बागचौर नगरपालिका स्थित थारमारे बजारमा शान्तिपूर्ण विरोध र्याली तथा कोणसभा सम्पन्न गरिएको छ । कार्यक्रम सल्यान सुनचाँदी व्यवसायी समितिको आयोजनामा गरिएको हो, जहाँ सयौंको संख्यामा स्थानीय व्यवसायी, सर्वसाधारण र सामाजिक अभियन्ताको सहभागिता देखिएको थियो ।
विरोध र्याली थारमारे बजार बागचौर बजार परिक्रमा गर्दै थारमारे बजारको प्रतिक्षालयमा कोणसभामा परिणत भएको थियो, जसमा व्यवसायीहरुले सरकारको पछिल्लो कर नीति प्रति आक्रोश पोख्दै अविलम्ब खारेजीको माग गरेका छन् ।
कोणसभालाई सम्बोधन गर्दै सल्यान सुनचाँदी व्यवसायी समितिका पूर्व सल्लाहकार टिकाराम सुनारले सरकारको हालको कर प्रणालीले स्थानीय व्यवसायीको ढाड सेकेको गुनासो गर्नुभयो । “एकातिर साना व्यवसायीलाई आर्थिक संकटले घेरेको छ भने अर्कोतिर राज्यले थप कर थोपरेर झनै कठिन बनाइरहेको छ,” उहाँले भन्नुभयो, “सुन कुनै विलासिता होइन, यो हाम्रो संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएको छ ।” उहाँले विशेष गरी गाउँ तथा पहाडी जिल्लामा सुनचाँदीको कारोबार जीवन निर्वाहको एउटा माध्यम भएको उल्लेख गर्दै ग्रामीण व्यवसायीमाथि लगाइएको यस्ता करहरू तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
पूर्व सल्लाहकार सुनारले सरकारका कर नीतिहरू पूरै ग्रामीणविरोधी भएको टिप्पणी गर्नुभयो ।
नेपाल सुनचाँदी व्यवसायी समिति केन्द्रका सदस्य मेगराज सुनारले करको नाममा सस्तो लोकप्रियता कमाउन खोज्ने सरकारको प्रवृत्ति खतरनाक बन्दै गएको बताउनुभयो ।
उहाँले चेतावनी दिँदै भन्नुभयो, “यस्ता करहरूले इमानदार व्यवसायी कमजोर बनाउँछ, अवैध सुन ओसारपसार र कालोबजारीलाई बढावा दिन्छ । सरकारले करको नाममा असमानता, अन्याय र अराजकता फैलाउँदैछ । उहाँले केन्द्रमा बसेर नीति बनाउनेहरूलाई दुर्गमका अवस्था बुझेर निर्णय लिन आग्रह गर्नुभयो ।
केन्द्रिय सदस्य सुनारले गाउँमै बसेर इमानदारीपूर्वक व्यवसाय गरिरहेका व्यवसायीहरूको आवाज उपेक्षा गरिएको गुनासो गर्नुभयो ।
उहाँले थप स्पष्ट पार्नुभयो कि यस्तो करले न त राजस्व बढाउँछ न व्यवसाय टिकाउ रहन्छ, बरु कालोबजारी र तस्करी बढ्न सक्ने चेतावनी दिनुभयो । संघीय सरकार र सम्बन्धित निकायलाई तत्काल व्यवसायीहरूसँग संवाद र माग पुरा गर्न पनि आग्रह गर्नुभयो ।
सल्यान सुनचाँदी व्यवसायी समितिका अध्यक्ष रमेश सुनारले समितिले विगतदेखि नै बारम्बार स्थानीय, प्रदेश तथा केन्द्र सरकारमा आफ्नो पीडा सुनाउँदै आएको तर सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसायी कर तिर्न नचाहने होइनन्, तर ६ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटजस्ता कर अस्वीकार्य छन् । हामी त नाफा गर्न होइन, घाटा खाएर बाँच्न संघर्ष गर्दैछौं ।
उहाँले राज्यको नीति सिधै व्यवसायीहरूमाथिको आक्रमण भएको उल्लेख गर्दै यदि चाँडै नीति फिर्ता नभए जिल्ला, प्रदेश हुँदै संघीय स्तरसम्म सशक्त आन्दोलनको तयारी गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, स्थानीय व्यवसायीहरूले आन्दोलित हुनुपर्ने अवस्था आउनु दुखद हो । हामी कुनै कर नतिर्ने भन्ने होइनौं, तर अन्यायपूर्ण करको विरोध हाम्रो अधिकार हो ।
त्यस्तै समितिका सदस्य विष्णु बिटालुले सुनचाँदी व्यवसायीलाई जोगाउने होइन, सिध्याउने काम सरकारले गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “थोरै लगानीमा गरिने यो व्यवसाय अहिले धेरै कर र नियमको मारमा परेको छ । ग्राहकहरू करकै कारण पछि हट्न थालेका छन्, हाम्रो व्यापार सुक्दै गएको छ ।
बिटालुले यस्तो करले उपभोक्तामा समेत नकारात्मक असर पार्ने उल्लेख गर्दै, विवाह, संस्कार र धार्मिक कार्यमा सुनचाँदी प्रयोग गर्नसमेत कठिन हुने परिस्थिति सिर्जना भइरहेको बताए। उहाँले सरकारसँग कर प्रणाली पुनरावलोकन गरी ग्रामीण क्षेत्रका व्यवसायीलाई राहत दिने कार्य तत्काल थाल्न अनुरोध गर्नुभयो ।
सल्यानको थारमारे बजारमा सम्पन्न भएको विरोध कार्यक्रमले देखाएको छ कि सरकारको हालको कर नीति प्रति स्थानीय व्यवसायी, उपभोक्ता र नागरिकमा गहिरो असन्तोष छ । सहर केन्द्रित नीतिहरूलाई ग्रामीण जनजीवनमा जस्ताको तस्तै लागू गर्दा त्यसको असर झन गहिरो र विनाशकारी बन्न सक्छ ।
र्यालीमा जिल्लाका विभिन्न स्थानबाट आएका सुनचाँदी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरू टाउकोमा कालोपट्टी बाँधेर,
–सुनमा लगाईएको २ प्रतिशत बिलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर ।
–सुनको भानसारमा ६ प्रतिशत कर कायम गर ।
–उपभोक्ता, कर्मचारी, कालिगढ तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर ।
–सुन वितरण प्रणालीलाई परीमार्जन गरी १०० र २०० ग्राम सम्मको सानो परिमानको सुन प्रदेश बैंकबाट बितरण गर ।
– अन्यायकारी कर खारेज गर ।
–सुनचाँदी व्यवसाय बचाऊ ।
–व्यवसायीमाथि करको भार बन्द गर ।
जस्ता नारा बोकेर बजार परिक्रमा गर्दै सभा स्थल पुगेका थिए । कार्यक्रममा सहभागी व्यवसायीहरूले तत्काल कर खारेजी नगरेमा देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
सुनमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट लागू गर्ने निर्णयले व्यवसायमात्र होइन, सामाजिक र सांस्कृतिक अभ्यासमा समेत असर पार्ने देखिएको छ । यदि सरकारले यस्तो नीति तत्काल फिर्ता लिएन भने, सल्यानको यो आवाज चाँडै देशव्यापी आन्दोलनको स्वरूप लिन सक्छ । सरकारले व्यवसायीहरूको पीडा सुन्ने, संवाद गर्ने र सुधार गर्ने तत्परता देखाउन नसके देशको साना व्यवसाय क्षेत्र पूर्णरूपमा धरासायी हुने खतरा देखिँदैछ ।
