सल्यान, असार १६ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय निर्देशनअनुसार आज सल्यानमा सुनमा लाग्दै आएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा तथा रत्नमा लागाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको मागसहित शान्तिपूर्ण विरोध र्याली तथा कोणसभा सम्पन्न गरिएको छ ।
कोणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मेघराज सुनारले सम्बोधन गर्दै सरकारले सुनचाँदी व्यवसायीहरूलाई कमजोर बनाउने नीति अख्तियार गरेको आरोप लगाउनु भयो । उहाँले, “विलासिता कर र १३ प्रतिशत भ्याटले व्यवसायमा गम्भीर असर पारेको छ । यसले गर्दा व्यवसायीहरु निराश छन्, बजारमा प्रतिस्पर्धा घटेको छ र कालोबजारी मौलाएको छ । सरकारको नीति कर संकलन होइन, व्यवसाय नै बन्द गर्ने दिशामा उन्मुख छ ।” सुनारले मूल्य अभिवृद्धि कर (भ्याट) यस्तो क्षेत्रमा लागू गर्नु अन्यायपूर्ण भएको भन्दै यो करले ग्राहकहरूमा समेत असर परेको उल्लेख गर्नुभयो । सरकारले सुनचाँदी व्यवसायी र उपभोक्तालाई मारमा परेको भन्दै निरन्तर रुपमा राज्यलाई कर घटाउन माग गर्दै शान्तिपुर्ण बिरोेध जारी राखेको नेपाल सुन चाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्य मेघराज सुनारले जानकारी दिनुभयो । महासंघले पटकपटक आन्दोलन गर्दा पनि माग सुनुवाई नभएकोले आन्दोलन झन चर्किदै जाने बताउनु भयो ।

त्यसैगरी, सल्यान सुनचाँदी व्यवसायी समितिका अध्यक्ष रमेश सुनारले स्थानीय व्यवसायीको पीडा प्रतिनिधित्व गर्दै भन्नुभयो, “हामी वर्षौँदेखि कानूनी रुपमा व्यवसाय गर्दै आएका छौँ । तर अहिले सरकारले हामीलाई हेपेको जस्तो महसुस भइरहेको छ । साना व्यवसायीले करको चाप सहन सक्ने अवस्था छैन । यदि सरकार गम्भीर भएन भने बाध्यतामा हामी थप आन्दोलनमा उत्रन सक्छौँ ।”
उहाँले व्यवसायीहरूमाथिको दोहोरो करको भारले ग्रामीण तथा जिल्ला स्तरका व्यवसायीहरू सबैभन्दा बढी मारमा परेको बताउनु भयो । “महँगी, मूल्य घटबढ र करको असन्तुलनले व्यवसायमै संकट उत्पन्न भएको छ,” उहाँले भन्नु भयो । अन्दोलन प्रति सरकार गम्भिर हुन अनुरोध गर्दै सरकारले व्यवसायी उपभोक्तालाई आफना देश जनताको जस्तो व्यवहार नगरेको समेत बताउनु भयो ।

र्यालीमा जिल्लाका विभिन्न स्थानबाट आएका सुनचाँदी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरू टाउकोमा कालोपट्टी बाँधेर,
–सुनमा लगाईएको २ प्रतिशत बिलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर ।
–सुनको भानसारमा ६ प्रतिशत कर कायम गर ।
–उपभोक्ता, कर्मचारी, कालिगढ तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर ।
–सुन वितरण प्रणालीलाई परीमार्जन गरी १०० र २०० ग्राम सम्मको सानो परिमानको सुन प्रदेश बैंकबाट बितरण गर ।
– अन्यायकारी कर खारेज गर ।
–सुनचाँदी व्यवसाय बचाऊ ।
–व्यवसायीमाथि करको भार बन्द गर ।
जस्ता नारा बोकेर बजार परिक्रमा गर्दै सभा स्थल पुगेका थिए । कार्यक्रममा सहभागी व्यवसायीहरूले तत्काल कर खारेजी नगरेमा देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।


