जेठ २९, सल्यान ।
मनसुन शुरु भएपछि सल्यानमा बाढी पहिरो तथा डुवानको जोखिमबाट सुरक्षित बनाउन सरोकारवालाहरुले ध्यानाकर्षण गरेका छन । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायसंग विहिबार खलंगामा भएको समन्वय बैठकले विभिन्न निर्णय गरेको छ । वर्षा यामलाई मध्यनजर गर्दै सम्भावित विपद् व्यवस्थापन तथा बाढी–पहिरो र डुबानको पूर्वतयारीका लागि महत्वपूर्ण निर्णयहरू लिइएको हो । बैठकले बाढी र डुबानको जोखिम न्यूनीकरण तथा समुदायको सुरक्षाका लागि पूर्वतयारी योजना तयार गर्ने निर्णय गरेको हो। बैठकले विपद् सम्भावित क्षेत्रमा मापदण्ड अनुसार स्थान पहिचान गरी सुरक्षित स्थानमा सार्न, खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्न, र संचार संयन्त्र सक्रिय बनाउन निर्देशन दिएको छ ।
स्थानीय तहहरूलाई जोखिमयुक्त क्षेत्रको पहिचान गरी बस्ती स्थानान्तरण गर्न, सुरक्षा सतर्कता बढाउन, तथा सम्भावित बाढी–पहिरोको सूचना समयमै सम्प्रेषण गर्न अनुरोध गरिएको छ । साथै बाढी र पहिरो बारे थाहा पाउनका लागि मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ मा फोन गर्न सकिने जानकारी पनि दिइएको छ। सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ भने संचार माध्यमलाई सूचना सम्प्रेषण गर्न तथा जनचेतनामूलक सन्देश प्रसारण गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षतामा भएको बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कायार्लयका प्रमुख तथा प्रतिनिधि, संघसंस्था, पत्रकार महासंघ तथा रेडक्रसका पदाधिकारीको सहभागिता रहेको थियो । सहभागीले विपदमा चाहिने हरेक सामाग्रीलाइ सहि अवस्थामा राख्नुपर्ने र अवश्यक पर्दा सबै जुटेर लाग्नुपर्ने बताएका हुन । यसबर्षको मनसुन छिटो र धेरै हुनेपछि प्रतिकार्य योजनामा जुट्नुपरेको र स्थानीय तहहरूलाइ झन जिम्मेवार बनाउन अनुरोध गरिनेछ । कार्यक्रम सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले सल्यानलाइ आगलागि नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्री पनि प्रदान गरेको छ । जिल्ला अधिकृत आदर्श अधिकारीले प्रमुख जिल्ला अधिकार मार्फत सल्यानलाई फायर फाइटिङ सम्बन्धी सामाग्री प्रदान गरेका हुन ।
