सल्यान, २४ ज्येष्ठ ।
बनगाड कुपिण्डे नगरपालिका वडा नं.४ र ५ स्थित किचेन लिसपानी च्यूरा खानेपानी तथा सरसफाई आयोजना शुक्रबार एक कार्यक्रम बीच समुदायलाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, आयोजना सहयोग इकाईका प्रतिनिधि गुम्मबहादुर नेपाली, ब.कु.न.पा. वडा नं. ४ का वडाध्यक्ष पुष्कर बुढा सहितको उपस्थिति तथा रोहबरमा नगर प्रमुखबाट उपभोक्ता समितिका पदाधिकारीहरु लाई विधिवत रुपमा आयोजना हस्तान्तरण गरिएको हो । यो सहित गत वर्ष निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरु क्रमशः वडा नं. ७ को छहरेखोला रम्चाउन खानेपानी, वडा नं. १२ को माझखर्क गाउँस्वाथ्यचौकी लिफ्ट खानेपानी, वडा न. ३ को पाट्के खानेपानी समेत ४ वटा खानेपानी तथा सरसफाई आयोजनाहरु समुदायलाई हस्तान्तरण गरिएको छ ।

यसैबीच आयोजनाको संरक्षण, मर्मत सम्भार, निरन्तरता र दिगोपनाको उदेश्य बमोजिम केही शर्त सहित दुई पक्षिय योजना हस्तान्तरण सम्झौता पनि गरिएको छ । आ.ब. ०८०⁄०८१ मा सुस्वा परियोजना अन्तर्गत नगर वास कोषको ७१ लाख ६१ हजार १ सय ३२, समुदाय अर्थात उपभोक्ताहरुको नगद ६ लाख ७ हजार र श्रमदान १८ लाख ६१ हजार २९ गरी कूल ९६ लाख, २९ हजार ६ सय ६१ रुपँया लागत सहभागितामा यो योजना निर्माण सम्पन्न भएको हो । एक घर एक धाराको अवधारणा बमोजिम निर्माण पश्चात प्रत्येक घरधुरीमा पर्याप्त तथा नियमित रुपमा पानी पुगेकोले उपभोक्ताहरुलाई ठूलो राहत मिलेको छ । खानेपानी आयोजनाबाट दुईवटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पनि लाभान्वित भएका छन् ।


आयोजना हस्तान्तरण कार्यक्रममा आफ्ना भनाईहरु राख्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले आयोजना निर्माण गर्नुमात्र ठूलो कुरा नभै दिगो बनाउने कुरामा सवैले ध्यान दिनुपर्ने बताउनु भयो । कुनै भैपरी आउने समस्या या अत्यन्तै कठिन अवस्था बाहेक अन्य अवस्थामा अब आयोजनाको संरक्षण तथा मर्मत सम्भार गर्ने, सदुपयोग गर्ने र दिगो बनाउने जिम्मेवारी समुदायको नै हुने गरी योजना हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका सभाध्यक्ष एवम् खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खड्गे विष्टले आयोजना निर्माण चरणमा विविध कठिनाईहरु भए पनि निर्माण पश्चात समुदायमा ठूलो राहत मिलेको बताउनुभयो । कार्यक्रममा खानेपानी आयोजनाको लागत सहभागिता लगायत विविध विषयमा जानकारी वास संयोजक गोविन्द प्रसाद शर्मा र सञ्चालन सहजीकरण वास सहजकर्ता निम प्रसाद बुढाले गर्नुभएको थियो ।