सल्यान, २४ जेष्ठ ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ स्थित पाट्के खानेपानी तथा सरसफाइ योजना हस्तान्तरणसंगै पाट्के टोललाई पूर्ण सरसफाई उन्मूख टोल घोषणा गरिएको छ । बिहीवार विश्व वातावरण दिवस् तथा राष्ट्रिय सरसफाइ सप्ताहको पहिलो दिनको अवसरमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता समितिलाई योजना हस्तान्तरणसंगै पूर्ण सरसफाइ उन्मूख टोल घोषणा गरिएको हो । नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन, स्थानीय सरकार र समुदायको समेत लागत साझेदारीमा सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना सञ्चालन भईरहेको छ । सोहि बमोजिम आर्थिक वर्ष ०८०।०८१ मा करीब २९ लाखमा निर्माण सम्पन्न गरिएको उक्त योजनामा एक घर एक धारा अनुसार २७ घरधुरी र एउटा सामुदायिक विद्यालयमा गरी २८ धारा जडान गरिएको छ भने यसबाट करीब १५० भन्दा बढी जनसंख्या लाभान्वित भएको छ । सुरक्षित पिउने पानीको व्यवस्था, प्रत्येक घरमा मापदण्ड बमोजिमको शौचालय, खानाको स्वच्छता, व्यक्तिगत तथा घरायसी सरसफाइ, वातावरणीय सरसफाइ जस्ता सूचकहरुलाई आधार मानी वडा तथा पालिका स्तरीय अनुगमन टोलिको मुल्यांकनको आधारमा पाट्के टोल पूर्ण सरसफाई उन्मूख टोल घोषणा गर्न योग्य भएको हो ।
योजना हस्तान्तरण तथा पूर्ण सरसफाई उन्मूख टोल घोषणा कार्यक्रममा आफ्ना भनाई राख्दै नगर प्रमुख प्रमुख कर्ण बहादुर बुढाथोकीले पूर्ण सरसफाइ युक्त टोल बनाउन समुदायको सक्रियता निरन्तर भईरहनुपर्ने बताउनु भयो । समुदायको सक्रियता विना विकास निर्माण प्रभावकारी रुपमा अगाडि बढ्न नसक्ने धारणा उहाँको थियो । उहाँले समुदायको सक्रियता र लगानी बमोजिम नै नगर सरकारले पनि साथ दिने जानकारी दिनुभयो । नगर उपप्रमुख पुरुषोत्तम आचार्यले पाट्के खानेपानी तथा सरसफाई योजना निर्माणका लागि उपभोक्ता समिति गठन, दर्ता प्रक्रिया, योजना निर्माणका विभिन्न चरणहरु देखि हस्तान्तरणसम्म आईपुग्दाको पृष्ठभूमि बताउनु भयो । निरन्तर रुपमा गरिएको पृष्ठपोषण, अनुगमन र समुदायको सक्रियताले नै उत्कृष्ट कार्य गर्न सफल भएको बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले समुदायमा खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा भए गरेका क्रियाकलापहरु प्रत्यक्ष देख्दा निकै राम्रो कार्य भएकोे र सवैको लगानी पूर्णरुपमा सदुपयोग भएको पाईयो भन्दै खुशी व्यक्त गर्नुभयो । त्यसैगरी वडा नं. ३ का अध्यक्ष धनबहादुर पुन मगरले पालिकामै पहिलो पूर्ण सरसफाई उन्मूख टोल पाट्के बनाउन सकेकोमा टोलबासीलाई धन्यवाद् दिनुभयो । साथै सरसफाइ क्रियाकलापलाई निरन्तरता दिन र अँझ सुधार गर्न समुदायलाई अनुरोध गर्नुभयो । त्यस्तै सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्दराज रोकायले पूर्ण सरसफाईको यो अभियान अब निरन्तर अगाडि बढाउन सवैलाई अनुरोध गर्नुभयो । सरसफाई र स्वच्छताको क्षेत्रमा कर्णाली प्रदेश अग्र स्थानमा रहेको जानकारी दिदै खानेपानी, सरसफाई एबम् स्वच्छता हाम्रो जीवन र आयुसित जोडिएकोले यसलाई सवैले महत्व दिनुपर्ने बताउनु भयो ।
त्यसैगरी वडा नं.१ का अध्यक्ष थुमबहादुर वि.सी, २ का अध्यक्ष मान बहादुर खत्री र वडा नं. ६ का अध्यक्ष गणेश बहादुर बुढाक्षेत्रीले पालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मूख टोल बनाउन सफल भएकोमा टोलबासी, उपभोक्ता समिति र वडालाई पनि बधाई दिनुभयो । त्यसैगरी खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अवस्थालाई दिगो बनाउन सुझाव दिनु भयो । कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख नविन चौधरी, पुर्वाधार विकासका कर्मचारी, वास इकाई कर्मचारीहरु, उपभोक्ता समिति पदाधिकारीहरु, स्थानीय विद्यालयका शिक्षक एबं विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन तथा सहजीकरण वास सहजकर्ता निमप्रसाद बुढाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पाट्के खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर बुढाले गर्नुभएको थियो ।

