जेष्ठ २१ सल्यान ।
बलियो इच्छाशक्ति र निरन्तरको मेहनतले मानिसले सफलता हाँसिल गरिरहेको हुन्छ । तर सवैले सोचेजस्तो सफलता हाँसिल भने गर्न सक्दैनन् । अपवाद्को रुपमा थोरै मानिसहरुले मात्र अपेक्षित सफलता हाँसिल गरिरहेका हुन्छन् । थोरै संख्यामा मात्रै मानिसहरु बहुप्रतिभाका धनी हुन्छन् । यो सन्दर्भ पवन कुमार वली र उनको प्रतिभाको हो । गीत, संगीत, सञ्चार, उद्घोषण र सामाजिक क्रियाकलापहरुमा समेत उनी अघि बढीरहेका छन् । पछिल्लो समय वलीको “सल्यान टाकुरी” गीतले चर्चा बटुल्दै आएको छ ।
सल्यानको साविक मर्म गाविस र हाल कुमाख गाउँपालिका‐३ मा जन्मिएका पवनकुमार वलीले भर्खरै मात्र “सल्यान टाकुरी” नामक लोक गीत उनको आफ्नै आधिकारिक युट्युब च्यानल पवन कुमार वली को नामबाट सार्वजनिक गरेका छन् । “सल्यान टाकुरी, जाल बुनी छेकने, कहाँ छेउ माकुरी” बोलको गीत वलीले आफ्नै शब्द, लय र स्वरमा तयार पारेका हुन् । मोडलिङमा समेत उनको भूमिका छ । गीतमा वली संगै रिना गुरुङ र रामु खड्काले अभिनय गरेका छन् ।
वलिले सञ्चार क्षेत्रमा रहदा उज्यालो साप्ताहिक नामक पत्रिकाको सम्पादन गरेका थिए । रेडियो तहल्कासित आबद्ध भएर लोकप्रिय बहस् कार्यक्रम चलाउथे । सञ्चार क्षेत्रसंगै गीतसंगीतप्रति पनि उनको सानैदेखि झुकाव थियो । सानैदेखि गीत संगीत प्रतिको रुचिका कारण अवसर मिल्यो कि अरुलाई गीत सुनाउन अगाडि सर्दथे । हाल सञ्चारक्षेत्रमा प्रत्यक्ष जोडिएका छैनन् । सञ्चार क्षेत्रसित केहि टाढा रहे पनि विभिन्न संघ संस्था, परियोजना तथा गैरसरकारी क्षेत्रमा हुने गतिविधिमा उनको भूमिका महत्वपूर्ण हुने गर्दछ । उनी जहाँ आबद्ध हुन्छन्, त्यहाँ महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने मौका पाईरहेका छन् । विभिन्न कार्यक्रमहरुको उद्घोषण वा सञ्चालन गर्ने जिम्मा पनि उनले नै पाईरहेका हुन्छन् ।
वली नेपाल पत्रकार महासंघ सल्यानका पुर्व कोषाध्यक्ष हुन् । त्यसैगरी रेडियो तहल्काको कार्यकारी निर्देशक तथा संस्थापक सदस्य पनि हुन् । हाल विभिन्न परियोजनाहरुमार्फत विकास निर्माणमा सक्रिय छन् भने वचत समयको सदुपयोग गर्दै लोकभाका संरक्षण एबं प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
