१७ जेठ २०८२ कपुरकोट सल्यान ।

“दुख बाँड्न सकिएला, तर सहन सकिंदैन” भन्ने भावनालाई आत्मसात् गर्दै कपुरकोट गाउँपालिका–६ की क्यान्सर पीडित यामा बोहराको जीवन रक्षाका लागि सुरु गरिएको सहयोग अभियानले तीन लाख अठहत्तर हजार चौरासी रुपैयाँ (रु ३,७८,०८४/-) भन्दा बढी रकम जुटाउन सफल भएको छ ।

यो मानवीय अभियान समाजसेवी बेद बहादुर ओलि ‘विकास’ को पहलमा २०८१ साल बैशाख २६ गतेबाट सुरु गरिएको हो । बोहरा पित्त थैलीमा क्यान्सर देखिएपछि आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अभियान थालिएको हो ।

ओलि स्वयं क्यान्सरकै कारण आमा गुमाएका पीडित हुन् । उनले यसअघि पनि अर्का क्यान्सर पीडित बेद बहादुर बोहराको लागि पाँच लाख पन्ध्र हजार रुपैयाँभन्दा बढी सहयोग जुटाइसकेका थिए । समाजसेवामा समर्पित ओलि भन्छन् ।

हाम्रो जस्ता विपन्न परिवारमा घातक रोग लागेपछि उपचारको अभावमा ज्यान जाने जोखिम अत्यधिक हुन्छ । सरकारले निःशुल्क उपचारको दायरा बढाइदिए यस्ता पीडितहरू बाँच्न सक्छन् ।

अभियानमा देश–विदेशका सहयोगी मनहरूले खुलेर साथ दिएका छन् । कपुरकोट–६ का सुनिल बस्नेत एक्लैले ६४,०००/-, भारतस्थित त्रिवेणी सेवा समाज मोहाली चण्डीगढ़को पहलमा ४०,१६०/-, गोविन्द महतारा, नरेश बोहरा, रेसम राणा लगायतको समूहले ४२,५८५/-, मेकबहादुर बोहराको पहलमा १५,३८९/-, हिमाल खड्काले ८,९७७/- र विनोद बोहराले ६,४००/- सहयोग जुटाएका छन् ।

अहिले यामा बोहरा भारतको चण्डीगढ़स्थित PIGMER अस्पतालमा उपचाररत छिन् । उनका श्रीमान् नारायण बोहराका अनुसार यामाको स्वास्थ्य स्थिति सामान्य बन्दै गएको छ र उपचार निरन्तर भइरहेको छ ।

जीवनको लागि संघर्ष गरिरहेकी यामाको पक्षमा जुटिएको सहयोगले एउटा परिवार मात्र होइन, समाजमा मानवीयताको पुनः उज्यालो छरेको छ । बेद बहादुर ओलिजस्ता युवाको निस्वार्थ पहलले समाजमा आशा र सहानुभूतिको नयाँ अध्याय लेखिरहेको छ ।