१५ जेठ २०८२ कपुरकोट, सल्यान ।

गणतन्त्र दिवस २०८२ र वातावरण दिवसको पूर्वसन्ध्यामा कपुरकोट साहित्यिक भावनाले भरिएको दृश्यले झन् जीवन्त बन्यो । साहित्य, संगीत, गजल र कविता प्रेमीहरू एउटै थलोमा भेला भई उत्साहपूर्वक साहित्य सृजनाको उज्यालो सन्देश फैलाए ।

वनस्पति अनुसन्धान केन्द्र सल्यान, कपुरकोट गाउँपालिका र नागरिक सूचना केन्द्र कपुरकोटको संयुक्त आयोजनामा मूलपानीस्थित वनस्पति उद्यानमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो । गोष्ठीमा सल्यान र बाहिर रहेका साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा साहित्यप्रेमीहरूको उल्लेख्य र सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता साहित्यकार भद्रसिंह बुढा ‘भद्र भास्वर’ ले गर्नुभएको थियो भने कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुन प्रमुख अतिथि र उपाध्यक्ष प्रकाश भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
डा. मित्र पाठक, पत्रकार सन्तोष घर्ती र चूडामणि पीएमले कार्यक्रमको सहज र आकर्षक सञ्चालन गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यान अध्यक्ष डिल्लीराज रावत, सल्यान कला तथा साहित्य परिषद अध्यक्ष तथा गजलकार भरत रोकाय, साहित्यकार प्रेम पुन ‘उलुङ्गे’, गायक यम थापा, वडाध्यक्ष मित्रलाल कठायत, डा. घनश्याम भण्डारी, शिक्षा शाखा प्रमुख रमेश कुमार आचार्य, प्रहरी निरीक्षक तथा स्रष्टा टंकेश्वर भट्टराई, प्रअ भुपाल साहु, सहायक प्रअ तथा गायक भिमसेन बीएम, कवि रमेशजंग क्षेत्री, टिकाराम रेउले, ओमप्रकाश देवकोटा, तिला बुढा, प्रेम आचार्य, यमुना थापा, गोलोकराज बुढा मगर, शिवराज बिक लगायतका विशिष्ट स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभयो ।

कविता, गजल, मुक्तक, गीत र वाद्यवादनमार्फत प्रस्तुत गरिएका सिर्जनाहरूमा गणतन्त्रको महत्त्व, वातावरणीय चेतना, जैविक विषादीको खतराको खबरदारी, समसामयिक सामाजिक तथा राजनीतिक परिवेश, साथै मायाप्रेम, देशप्रेम र मानवताको सन्देश प्रकट भएका थिए ।

साहित्यिक वातावरणमा कार्यक्रमको अन्त्य तर्फ उपस्थित सहभागिहरूले यस्तो सिर्जनात्मक माहोलले समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमले कपुरकोटलाई साहित्यिक चेतनाको केन्द्र मात्र होइन, समर्पित स्रष्टाहरूको साझा थलोका रूपमा पनि चिनाउने विश्वास गरिएको छ ।