१३ जेठ २०८२ सल्यान कपुरकोट

कपुरकोट गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सरोकारवाला सँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गाउँपालिका सभा हलमा सम्पन्न भएको छ । आप्रवासन सम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षित प्रक्रियाको जानकारी र सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता कपुरकोट गाउँपालिकाका अध्यक्ष श्री दुर्गा बहादुर पुन ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश पौडेलज्यूको उपस्थिति रहेको थियो । त्यसैगरी विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, विषयगत शाखाका प्रमुखहरू, गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाका प्रमुखहरू तथा सामी कार्यक्रमका जिल्ला संयोजक श्री विमल गौतमज्यू समेत कार्यक्रमको गरिमामय उपस्थिति रहेका थिए ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण मनोसामाजिक परामर्शकर्ता कमल महतारा र रोजगार संयोजक विपना बुढा मगरद्वारा गरिएको थियो । उनीहरूले आप्रवासन प्रक्रियामा देखिने मानसिक र सामाजिक चुनौतीहरू बारे जानकारी दिँदै, विदेशिने कामदारहरूको मनोबल र आत्मविश्वास सुदृढ गर्न सकिने उपायहरू प्रस्तुत गरे । साथै, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले ध्यान दिनुपर्ने कानुनी, सामाजिक र व्यवहारिक पक्षबारे गहन छलफल गरियो ।

सहभागीहरूले कार्यक्रम अत्यन्त ज्ञानवर्धक, व्यवहारिक र सन्देशमूलक भएको प्रतिक्रिया जनाए । सरोकारवाला निकायहरू बीच समन्वय र सहकार्यको भावना अझ मजबुत बनाउने खालको छलफल भएको भन्दै, यस्ता कार्यक्रमहरू निरन्तर भइरहुन भन्ने अपेक्षा व्यक्त गरिएको थियो ।

कपुरकोट गाउँपालिकाले सुरक्षित आप्रवासन अभियानलाई प्राथमिकतामा राख्दै, विदेश जाने युवाहरूका लागि सुरक्षित, कानुनी र मर्यादित आप्रवासन सुनिश्चित गर्ने दिशामा काम गरिरहेको बताइएको छ ।