१२ जेष्ठ २०८२ कपुरकोट सल्यान ।

´हामी सबैको विचार, हाम्रो गाउँको विकास’ भन्ने भावनालाई आत्मसात गर्दै कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र वार्षिक विकास योजना तर्जुमा गर्ने उद्देश्यले पूर्व-बजेट छलफल कार्यक्रम आयोजना गरेको छ । मिति २०८२ जेठ १२ गते गाउँपालिकाको सभाहलमा सम्पन्न यस कार्यक्रमले विकासको मूलधारमा सबै सरोकारवालाको आवाज सुन्ने थलोको रूपमा सार्थकता पाएको छ ।

कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश पौडेलले न्यानो स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य र महत्व स्पष्ट पार्नुभयो । त्यस पछिको सत्रमा गाउँपालिकाका उपाध्यक्ष श्री प्रकाश भण्डारीले चालु आर्थिक वर्षमा गरिएका कार्यहरूको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसले समग्र योजनाको पर्दालाई उजागर गर्‍यो ।

उक्त छलफल कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, पूर्वप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, सामुदायिक वन उपभोक्ता समूह, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत विविध क्षेत्रका करिब १५० सहभागीहरूको सहभागिता रहेको थियो ।

उपस्थित महानुभावहरूले भविष्यका योजनामा समेटिनु पर्ने विषय वस्तु बारे जीवन्त, गहन र सुझाव मूलक विचार प्रस्तुत गरे । उनीहरूको आशावादी दृष्टिकोण र सुझावहरूले भावी नीति तथा कार्यक्रमलाई अझ जनउत्तरदायी र कार्यान्वयनमुखी बनाउन महत्त्वपूर्ण आधार प्रदान गरेको महसुस गरिएको छ ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष श्री दुर्गा बहादुर पुनले जनता बाट आएका अमूल्य सुझावहरूलाई उपलव्ध श्रोत साधन सँग सन्तुलन मिलाउँदै क्रमशः विकास योजनामा समावेश गरिने विश्वास दिलाउनु भयो ।

उक्त छलफल कार्यक्रम उहाँकै अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालनको जिम्मेवारी प्रशासकीय अधिकृत श्री जिवराज खत्रीले वहन गर्नुभएको थियो ।

गाउँपालिकाले यो समावेशी अभ्यासलाई नीतिगत दस्तावेजमा रूपान्तरण गर्दै आगामी जेठ २२ गते गाउँ सभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।

सहभागिता मूलक नीति निर्माण तर्फको यो कदमले कपुरकोट गाउँपालिकालाई नमुना स्थानीय सरकारको रूपमा स्थापित गर्न सघाउ पुर्‍याउने विश्वास गरिएको छ ।