११ जेष्ठ २०८२ सल्यान
“सचेत युवा, सकारात्मक साथ; कपुरकोटको समृद्धिमा युवाको हात” भन्ने मूल नारासहित प्रथम कपुरकोट गाउँपालिका स्तरीय युवा सम्मेलन आइतबार भव्य रूपमा सम्पन्न भएको छ । कपुरकोट गाउँपालिकाको आयोजनामा, आइ एम स्वीडीस डेभलप्मेन्ट पार्टनर र दलित विकास समाज सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा सम्मेलन सम्पन्न भएको हो ।
गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, दलित विकास समाज सल्यानका परियोजना संयोजक, नेपाल युवा संस्था सञ्जालका प्रतिनिधि, समाज जनजागरण केन्द्रका अध्यक्ष, पत्रकार, सुरक्षाकर्मी, टोल विकास संस्था प्रतिनिधि तथा छवटै वडा बाट करिब १५० जना युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्मेलनमा कपुरकोट गाउँपालिकाले अघि सारेका असल अभ्यास, दलित विकास समाजले महिला तथा युवाका लागि गरेका कार्य, युवा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति-कानुन, अवसर र चुनौतीहरू बारे विभिन्न प्रस्तुतिहरू दिइएको थियो । साथै, प्यानल डिस्कसन मार्फत युवाका सवालमा सरोकारवालाबीच अन्तरक्रिया पनि गरिएको थियो ।
कार्यक्रमले १६ बुँदे घोषणापत्र जारी गर्दै सामूहिक हस्ताक्षर मार्फत सहभागीहरू बाट प्रतिबद्धता जनाइएको छ ।
सम्मेलनको अन्त्यतिर गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरिएको छ । जस अनुसार विवेक बोहरा अध्यक्ष, तारा परियार उपाध्यक्ष, यामकुमारी घर्ती समावेशी उपाध्यक्ष, चित्रबहादुर महतरा सचिव, गोपाल गौतम सहसचिव, रिता ओली कोषाध्यक्ष चयन भएका छन् । सदस्यहरूमा रमेश केसी, नन्दा महतरा, यमुना खड्का, प्रेम बोहरा, मनोज पुन र राधिका बुढा रहेका छन् ।
कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश चापागाईं र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हीरा कुमारी वलीले गरेका थिए ।
