बैशाख १९ , सल्यान ।

नेकपा (एकीकृत समाजवादी) सल्यानले जिल्लाको समग्र विकास, सेवा प्रवाह, सुशासन तथा नागरिक अधिकारका विषयमा देखिएका गम्भीर समस्याहरू लाई उठाउँदै संघीय सरकारसमक्ष ३१ बुँदे मागपत्र पेश गरेको छ। शुक्रवार जिल्ला अध्यक्ष रमेश कुमार गौतमको नेतृत्वमा एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी सावित्रा पुनमार्फत मागपत्र प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको हो। मागपत्रमा भ्रष्टाचार, गरिबी, बेरोजगारी र प्रशासनिक ढिलासुस्तीका कारण विकास निर्माणमा गति नआएको उल्लेख गरिएको छ।

साथै, राजनीतिक निराशा बढ्दै अराजकता मौलाएको, शान्ति सुरक्षा कमजोर बनेको र युवाहरू विदेश पलायन गर्न बाध्य भई गाउँ–बस्ती खाली हुने अवस्था बढ्दो छ भन्दै सरकारलाई ‘सुशासन र रोजगारी’लाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिएको छ। पार्टीले संविधानको मर्मअनुसार राज्य सञ्चालन हुन नसकेको ठहर गर्दै सुशासन, समानता र रोजगारी सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने चेतावनी दिएको छ।मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुनले जनजीविका र नागरिकका सवाल जोडिएकाले सुधार गर्न सकिनेमा आफू प्रतिवद्ध रहेको बताइन्। मागपत्र बुझाउन पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भद्रसिंह बुढा, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज हरी केसी, पार्टी सचिव प्रेम डाँगी, उपसचिव मनवीर बस्नेत लगायतको सहभागिता रहेको थियो।

हेर्नुस् माग पत्र