३१ चैत्र कपुरकोट सल्यान । प्रतिकूल मौसमका बाबजुद पनि कपुरकोट गाउँपालिका–४ को पोखराचौरमा दोस्रो वडा कप अन्तर्गतको भलिबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मित्रलाल कठायतको सभाध्यक्षता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन रहेका थि । विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष प्रकाश भण्डारीको उपस्थिति थियो भने अतिथिका रुपमा शिक्षा शाखा प्रमुख रमेश आचार्य लगायत वडाका सदस्यहरु, ११ वटै टोल विकास संस्थाका अध्यक्षहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथि पुनले प्रतिकूल मौसमको बाबजुद टोल विकास संस्थाहरूको सक्रियता र खेलप्रतिको रुचि देख्दा आफू उत्साहित भएको बताए । उनले वडा अध्यक्ष मित्रलाल कठायतको समन्वय क्षमताको प्रशंसा गर्दै भलिबल प्रतियोगिता मर्यादित बनाउन आग्रह गरे ।

विशिष्ट अतिथि भण्डारीले वडा नं. ४ लाई नमुना वडा उल्लेख गर्दै यहाँको कार्यक्रम सधैँ विशेष हुने बताए । महिला भलिबल प्रतियोगिता समेत आयोजना गर्नु प्रगतिशील सोचको परिचायक भएको भन्दै उनले शुभकामना दिएका थिए । शिक्षा शाखा प्रमुख रमेश आचार्यले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।

सभा–अध्यक्ष कठायतले मौसम प्रतिकूल रहे पनि कार्यक्रममा उपस्थिति जनाउने सबैलाई धन्यवाद दिँदै भोलि देखि सुरु हुने खेलहरू अनुशासनका साथ खेल्न आग्रह गरे । उनले रेफ्रीहरूलाई खेल मर्यादित बनाउन विशेष ध्यान दिन अनुरोध समेत गरे । प्रमुख अतिथी समेत रहेका दुर्गा बहादुर पुनले उद्घाटन ब्यानर पढेर कार्यक्रम उद्घाटन पश्चात् भलिबल रिबन जोडिएको रिबन काटेर भलिबल मुख्य रेफ्रीलाई हस्तान्तरण गर्दै भलिबल प्रतियोगिता पनि उद्घाटन गरेका थिए ।

कार्यक्रमको विशेष आकर्षण भनेको झरीलाई बेवास्ता गर्दै प्रस्तुत गरिएको लोपोन्मुख पञ्चेबाजाको सांगीतिक प्रस्तुति रह्यो । स्थानीय कलाकारहरूले बजाएको पञ्चे बाजाको लयमा सहभागीहरूले भरपुर मनोरञ्जन लिएका थिए । सांस्कृतिक सम्पदाको जगेर्ना सँगै मनोरञ्जनको स्वाद समेत दिइएको उक्त प्रस्तुति दर्शक दीर्घामा निकै प्रशंसित रह्यो ।उपस्थित अतिथिहरूलाई वडा सदस्यहरू होम कुमारी बुढा र मंगली विकले टिका, खादा र व्याज लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रेम घर्तीले गरेका थिए ।