सल्यान, चैत १८ ।

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने बताएका छन् ।

नेकपा (एमाले) सल्यानद्वारा सोमबार सदरमुकाम खलंगामा आयोजित जागरण सभामा सम्बोधन गर्दै उनले नेपाली जनताले १०४ वर्षे राणा शासन र २४० वर्षे शाहवंशीय राजतन्त्र फालिसकेको स्मरण गराउँदै अब मुलुक पछाडि फर्कन नसक्ने स्पष्ट पारे । “गणतन्त्रलाई परित्याग गरी एकतन्त्रीय शासन स्वीकार्न कोही पनि तयार हुने छैन,” उनले भने ।

उनले देशलाई थप सबल बनाउन राजनीतिक दलहरूबीच सहकार्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुधार गर्न आवश्यक रहेको धारणा राखे ।

नेकपा (एमाले) सल्यानका अध्यक्ष भीमबहादुर सेनले राजा ज्ञानेन्द्रले प्रतिगामी काम गरेकोले जनताले फालिसकेको र अब राजतन्त्र फर्किन नसक्ने दाबी गरे । “जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्छ,” उनले भने ।

जागरण सभाकै अवसरमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस परित्याग गरी ८ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

जिल्ला अध्यक्ष भीमबहादुर सेनको अध्यक्षतामा सम्पन्न सभामा नेकपा (एमाले) जिल्ला कमिटी उप-सचिव गणेशमान सिंहले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य घनश्याम शर्मा, शारदा नगर कमिटी अध्यक्ष महेश देवकोटा, जिल्ला कमिटी उपसचिव सनशिल्ता डिसी वलीले सम्बोधन गरेका थिए ।

विभिन्न मौलिक झाँकीसहित सम्पन्न सभाको उद्घोषण तथा सहजीकरण नेकपा (एमाले) जिल्ला कमिटी सल्यानकी सचिव पुष्पा कुमारी बोहराले गरेकी थिइन् । सभामा जिल्लाभरबाट विशाल जनसहभागिता रहेको थियो ।