८ फागुन २०८१ कपुरकोट सल्यान ।
नेकपा एमाले कपुरकोट गाउँपालिकाको छैटौं पूर्ण बैठक भव्य रूपमा सम्पन्न भएको छ। बैठक नेकपा एमाले पालिका कमिटी अध्यक्ष क. मधुसूदन गिरिको अध्यक्षतामा तथा नेकपा एमाले सल्यान जिल्ला कमिटीका अध्यक्ष क. भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बैठकको पालिका कमिटी सदस्य क. ज्ञान बहादुर बिकको स्वागत मन्तव्य बाट सुरु भएको थियो । कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य क. घनश्याम शर्मा, जिल्ला कमिटी सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र ‘ख’ का संयोजक क. ओम बहादुर बुढा, जिल्ला कमिटी सदस्यहरू द्रोण के.सी., भीमा बुढाथोकी, अरुणा ओली खत्री, मित्रलाल कठायत, ललिता गिरी, रुपलाल बुढाथोकी तथा पालिका कमिटी उपाध्यक्ष क. ईश्वर बुढा, उप-सचिव क. बेलमती बुढालगायत अन्य वडा कमिटी अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठकलाई प्रभावकारी बनाउन पालिका उप-सचिव क. बेलमती बुढाले सहजीकरण गर्नुभएको थियो ।
बैठकका क्रममा सल्यानको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटी सदस्य तथा कपुरकोट इन्चार्ज क. टोपेन्द्र के.सी. र नेकपा (एस) जिल्ला कमिटी सदस्य क. कृष्ण बिक एमालेमा प्रवेश गर्नु भएको छ ।
उहाँहरूलाई नेकपा एमालेका जिल्ला अध्यक्ष क. भिम बहादुर सेन, प्रदेश कमिटी सदस्य क. घनश्याम शर्मा, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक क. ओम बहादुर बुढा, नेकपा एमाले पालिका अध्यक्ष मधुसूदन गिरि लगायत नेताहरूले स्वागत गर्नु भएको छ ।
यो प्रवेशले नेकपा एमाले कपुरकोटमा थप बलियो संगठन निर्माण गर्न सहयोग पुग्ने नेताहरूको धारणा छ । पार्टी नेतृत्वले समाजवादी धारका नेताहरूलाई समाहित गर्दै स्थानीय स्तरमा अझ सशक्त पार्टी निर्माण गर्ने रणनीति अघि बढाएको संकेत गरेको छ ।
बैठकमा पार्टी संगठन विस्तार, स्थानीय तहका गतिविधिहरू, आगामी निर्वाचनको तयारी तथा जनताको हितमा अघि बढ्नुपर्ने योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै स्थानीय विकास निर्माणमा पार्टीको भूमिका, जन अपेक्षाहरू र सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।
यो बैठकले नेकपा एमालेलाई कपुरकोट क्षेत्रमा थप सशक्त बनाउने विश्वास गरिएको छ । हालैका राजनीतिक घटनाक्रमहरूलाई ध्यानमा राख्दै एमालेले आफ्नो संगठनलाई थप व्यापक बनाउन थालेको छ, जसले पार्टीको राजनीतिक भविष्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
