सल्यान, २७ फागुन ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं ३ ढुङ्गीबजारमा मापदण्ड विपरीत सञ्चालन भइरहेको क्रसर उद्योगले स्थानीय बासिन्दा र वातावरणमा गम्भीर असर पु¥याइरहेको भन्दै विभिन्न राजनीतिक दलहरूले उद्योग तत्काल बन्द गर्न माग गरेका छन् । स्थानीय दलहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, त्रिवेणी गाउँपालिका, तथा वडा नं ३ को कार्यालय सल्यानमा ज्ञापनपत्र बुझाउँदै उक्त उद्योगको अनियमित सञ्चालन रोक्न आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा अवैध रूपमा सञ्चालित क्रसर उद्योगबाट ध्वनि, जल तथा वायु प्रदूषण भइरहेको अनि शारदा नदीबाट अनियन्त्रित रूपमा गिट्टी, बालुवा उत्खनन गर्दा सिँचाइ कुलोहरूमा क्षति पुगेको बताइएको छ ।
त्यस्ते उद्योग नजिकै माध्यमिक विद्यालय, बजार, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, लुहाम–सुर्खेत रोड, तथा सामुदायिक वन रहेको हुँदा वातावरणीय सन्तुलन खल्बलिने गरी ‘बगेश्वरी एग्री ग्रेट प्रा.लि.’ ले बालुवा वासिङ कम्पनीको रूपमा दर्ता भएर क्रसर उद्योग नै सञ्चालन गरिरहेको र राजनीतिक संरक्षणमा नदिमा डोजर तथा स्काभेटर प्रयोग गरेर मनपरी दोहन गरिरहेको अरोप लगाइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले खोला–नदीहरूको जिम्मा स्थानीय सरकारलाई दिइएको र अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक कारबाही गरिने बताइन्। जिल्ला समन्वय समिति उपप्रमुख असबिर बुढाथोकीले उद्योगको उजुरी पहिलेदेखि नै आएको र पुनः अनुगमन गरी निर्णय लिइने बताए । त्यस्तै, डिभिजन वन कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख तथा वन अधिकृत अन्जना शर्माले उद्योगको मापदण्ड उल्लङ्घन सम्बन्धी उजुरीहरू पटकपटक आइसकेको बताइन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशर कुमार न्यौपानेले उद्योगबारे उजुरी गृह मन्त्रालयसम्म पुगेको भए पनि कुनै निर्देशन नआएको जानकारी दिए।

ज्ञापनपत्र बुझाउन नेकपा एमाले त्रिवेणीका अध्यक्ष डिल्ली खड्का, नेकपा माओवादी त्रिवेणी अध्यक्ष नेत्र बहादुर पुन, नेकपा एकीकृत समाजवादीका कृष्ण डाँगी, नेकपा (विप्लव) का प्रेम बुढा, बरिष्ठ कलाकार तथा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य खर्क बहादुर बुढा, नेकपा एमाले प्रदेश कमिटी सदस्य बुद्धि केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्ली केसी लगायतको उपस्थिति रहेको थियो ।