सल्यान १० माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले कृषकहरूको घरदैलोमै पुग्ने अभ्यासलाई निरन्तरता दिँदै बिहीबार बागचौर नगरपालिका वडा नं १ ठिनबाङ्गमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ। शाखा प्रमुख अनुराग बोहराका अनुसार, यस कार्यक्रममा २० वटा बीमा दाबी बापतको चेक कृषकहरूलाई हस्तान्तरण गरिएको छ ।
शाखाले विभिन्न स्थानमा कृषकहरूलाई बीमाको महत्त्वबारे जागरूक बनाउन कार्यक्रमहरू गर्दै आएको छ । यो भन्दा एक वर्षअघि पनि सोही स्थानमा बीमा सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो, जसले धेरै कृषकलाई बीमाको दायरामा ल्याउन सफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिका वडा नं १ का अध्यक्ष गंगाराम बस्नेतले कृषकहरूको जीवनमा बीमाको महत्त्वबारे चर्चा गर्दै एनएलजी इन्स्योरेन्सलाई धन्यवाद दिए। त्यस्तै, पशु शाखा प्रमुख टेक बहादुर बस्नेतले सल्यान जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि एनएलजी इन्स्योरेन्सको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कृषकहरूलाई बीमाको लाभ लिन आग्रह गरे । कार्यक्रममा सल्यानी बहुउद्देश्यीय कृषि फार्मका संचालक कृष्ण बहादुर बस्नेत, लालिगुराँस बन उपभोक्ता समितिका अध्यक्ष सुरेश बि क, आमा समूहका अध्यक्षहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

शाखा प्रमुख अनुराग बोहराले कृषकहरूलाई बीमाको महत्त्व बुझाउँदै नेपाल सरकारले उपलब्ध गराउने ८० प्रतिशत अनुदानको उपयोग गर्न आग्रह गरे । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बागचौर नगरपालिका वडा नं १ का विभिन्न टोलहरूबाट ७४ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सल्यान कला साहित्य परिषद्का भरत रोकायले गरेका थिए ।
कार्यक्रमले कृषकहरूलाई बीमाको महत्त्व र यसको पहुँचबारे जानकारी प्रदान गर्दै बीमा दाबी प्रक्रियालाई प्रभावकारी बनाएको छ। एनएलजी इन्स्योरेन्सले यस अभियानलाई अझ निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।