पौष २३, सल्यान
सल्यान छत्रेश्वरीकी टीका डाँगीले श्रीमानले सहादत प्राप्त गरेको ठाउँमा पुगेर २१ बर्ष पछि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साविकको कोर्वाङ्ग झिम्पे गाविस वडा नं ९ खापुडाँडाका निमकान्त डाँगी (क. नेवबहादुर डाँगी) लाई तत्कालीन शाही नेपाली सेनाले २०५८ साल पौष २२ उहाँकै निवास भोटेचौरमा गोली हानी हत्या गरेको थियो । त्यहि दिनको सम्झनामा नेकपा माओवादी केन्द्र छत्रेश्वरी ६ नं वडाको आयोजनामा भएको स्मृति सभामा टीकाले श्रीमान ढलेकै ठाउँमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
सहिद डाँगीलाइ तत्कालीन शाही नेपाली सेनाले २०५८ साल पौष २१ गतेका दिन खेतमा काम गर्ने क्रममा कुटपिट तथा यातना दिएर २२ गते बिहानै घरबाट २५ मिटर दुरी टाढा लिएर गोली हानी हत्या गरेको थियो । स्थानीय कालूराम बिक भन्नुहुन्छः “सेनाले घर घेरा हालीसकेको रहेछ, खेतमा काम गर्न झर्न के लागेका थियौ माओवादी आयो गोली ठोक भन्यो, हामीलाई पिपलको बोट नेर माओवादी कहाँ जान थालिस भनेर छातीमा हतियार अडायो हामीले माओवादी हैनम भन्दा झुटो बोले मर्न तयारी हो भन्दै बयान लियो ।”
विक थप्नुहुन्छः “त्यो बेला २ सय भन्दा बढी शाही सेनाले नेवबहादुर डाँगीको घर घेरा हालेका रहेछन घरबाट घिसार्दै पिपलको बोट सम्म ल्यायो, भाग माओवादी भन्दै १० मिटर पर सम्म जान भन्यो डाँगी जानु भएन किन नभागेको भन्दै लात्तीले हान्दै लियो पहिलो गोली हान्यो अब मार्ने भयो भनेर हामी आतियौ हामीलाई काहिँ नजान भन्यो फेरि ३ पटक गोली हान्यो । डाँगीको हत्यापछि माओवादी मर्यो भनेर शाहीसेना फर्कियो केहि मान्छेले लास घरमा ल्याए, गाउँलेहरु कोही आएनन् उहाँको जीवन संगेनी टीका डाँगी लासमा परेर चीत्कार छोडेर रुनुभयो ।”
उहाँले २१ बर्ष अघिका दिन सम्झदै टिका भन्नुहुन्छः “कालुराम विक, राम महतरा सहित ३ जनाले लास उठाएर शारदामा लिदा काठ दिने मान्छे कोही भएनन उनीहरू पीडाका आँसु सहित फर्कीनुभयो, गाउँका सबै जना मान्छे त आउने परिस्थिति भएन तर भाइ सन्तान पनि कोही आएनन् ।”
राज्यले नागरिकता दिएको १६ दिनमा माओवादीको आरोपमा काम गर्दै गरेका मेरो श्रीमान मार्यो, माओवादीलाई आतंककारी भन्ने राज्य सत्ता नै आतंककारी भएको उहाँले भनाइ छ । उहाँले भन्नुभयो मेरो श्रीमानलाई २०५८ साल पौष ६ गते नागरिकता दिएर २२ गते हत्या गर्ने राज्य नै आतंककारी हो डाँगीले भन्नुभयो ।
२१ ओै श्रद्धाञ्जली सभा तथा स्मृति कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्र सल्यान जिल्ला अध्यक्ष मान बहादुर मल्लले महान सहिदहरुको उच्च बलिदानबाट आज देश संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता प्राप्त भएको बताए । उनले दलित, महिला, उपेक्षित बर्ग तथा समुदायको प्रतिनिधित्व सुनिश्चित भएको बताउदै राज्यले गरेको अत्याचार, उत्पीडन अन्यायका विरुद्ध लड्ने शक्ति पैदा गर्न फेरि माओवादी केन्द्र ती वर्गका माझमा पुग्ने बताउनुभयो ।
सत्तामा पुगेकाहरू माओवादी आन्दोलनबाट भएको परिवर्तन र जनयुद्धलाई नमान्ने कुचेस्टा गर्दैछन यसका रक्षाको लागि विभाजित माओवादीलाइ एकताको लागि दबाव दिन सहिद तथा बेपत्ता परिवार र घाइते अपांगता योद्धाहरु लाग्नुपर्ने बताउनुभयो ।
स्मृति सभा कार्यक्रममा माओवादी केन्द्र छत्रेश्वरी गाउँ समिति अध्यक्ष हिमाल यात्री, उपाध्यक्ष भिम बहादुर परियार , धन बहादुर परियार, सह सचिव राम महतरा, कोषाध्यक्ष गीताञ्जली भण्डारी, ६ नं वडा कमिटी अध्यक्ष शसिकान्त ठाकुर, घाइते योद्धा दिपक खड्काको बिशेष उपस्थिति रहेको थियो ।
