पौष २२, सल्यान । सल्यानलाई बाढी तथा पहिरोका साथै आगलागी जस्ता प्रकोपले बर्षेनी समस्या हुने गरेको सल्यानको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा बोल्नेहरुले पूर्व तयारीका साथ प्रतिकार्यको योजना, उद्धार सामाग्रीको तयारी र अवस्थाका बारेमा छलफल गरेका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले छिमेकी जिल्लाको प्रभावका कारण सल्यानमा लागु औषध तथा गाँजाको समस्या भएकोले सचेतनाका कार्यक्रम संचालन गनुपर्ने बताए । उनले स्थानीय सरकार र जिल्लाको सुरक्षा निकायको सहकार्य तथा समन्वयमा विपदमा उद्धार राहत र जनचेतनाका काम गर्न सकिने बताएका हुन । उनले आत्महत्या तथा बालविवाह रोक्न, दुर्घटना न्युनिकरण गर्न, लागुपदार्थ दुव्र्यसनीका विरुद्ध पनि संगै मिलेर काम गर्न सकिने बताएका हुन । बैठकमा जिल्ला प्रहरी प्रमुख केशर न्यौपानेले गत बर्षको तुलनमा यसबर्ष सवारी दुर्घटनाका घटनामा वृद्धि भएको तर मानविय क्षति कमभएको बताए । जिल्लामा प्रहरीले बालविवाह, बहुविवाह जस्ता ७/८ वटा विषय समेटेर समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गरिरहेको प्रमुख न्यौपानेले बताए ।

पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीको उपस्थितीमा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथाकी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, दार्मा गाउँपलिका उपाध्यक्ष जुना मल्ल, उद्योग वाणिज्यसंघका उपाध्यक्ष राजेन्द्र कुमार थापा लगायतले भुकम्प प्रतिकार्य तथा विद्युत तथा विभिन्न सवालमा प्रश्न गरेका थिए । जिल्लाको विद्युत वन तथा सडक तथा खानेपानीको विकास निर्माण तथा कार्यक्रमका बारेमा पनि जानकारी गराइएको छ । विद्युत प्राधिकरणका प्रशासन प्रमुख कालीबहादुर बुढाथोकी, पूर्वाधार विकास कार्यालयका इन्जीनियर नवीन थापा, डिभिजन वन कार्यालयका प्रमुख टेक बहादुर रावल र खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालयका अनुप श्रेष्ठले आफ्नो कार्यालयको कामका बारेमा जानकारी गराएका थिए । जिल्ला प्रशासनको हलमा भएको कार्यक्रमको सहजिकरण प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले गरेका थिए । बैठकले पालिकाको सहयोगमा जनचेतनामूलक कार्यक्रमका साथै राष्ट्रिय परिचयपत्रको महत्व र आवश्यकताका बारेमा सचेतना जगाउने, आगलागी, चट्याङ र हावाहुरीबाट प्रभावितलाई वितरण गरिएको रकम अनुमोदन गर्ने जस्ता निर्णय गरेको छ । त्यस्तै बैठकले विकास निर्मार्णलाई सहज बनाउने गरी ढुंगा गिठी बालुवा उत्खनन् गर्ने उद्योगलाई तोकिएको परिमाणमा हुनेगरी उत्खननको व्यवस्था गर्ने र चिसोबाट वच्न प्रचारप्रसारका साथै जनचेतना उपचारको विशेष प्रवन्ध अनि विपद्का बेला उद्धार तथा राहत व्यवस्थाका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
