पौष १५, सल्यान ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नंं. ७ रम्चाउन टोलमा निर्माण सम्पन्न भएको छहरेखोला रम्चाउना खानेपानी तथा सरसफाई आयोजना नगरपालिकाबाट उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत निर्माण भएको आयोजनामा नेपाल सरकार, फिनल्याड सरकार, युरोपियन युनियन र नगरपालिकाको लागत सहभागीता रहेको छ । त्यसैगरी समुदायको समेत कूल २० प्रतिशत लागत सहभागीता रहेको छ । जनश्रमदानबाहेक मर्मत सम्भार कोषको लागि ५०० र धारा निर्माणका लागि ४००० समेत गरी प्रतिघर ४५०० रुपँया नगद योगदान उपभोक्ताको रहेको छ ।

एक घर एक धारा अनुसार ६६ घरधुरीमा ६६ धारा र स्थानीय विद्यालयमा एक धारा गरी ६७ वटा खानेपानीका धारा निर्माण गरिएको छ । योजनाको कूल लागत ५३ लाख ९४ हजार ९ सय रहेको छ ।
आयोजना हस्तान्तरण कार्यक्रममा आफ्ना भनाई राख्दै नगर प्रमुख श्री कर्ण बहादुर बुढाथोकीले नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता योजना –(वास प्लान) बमोजिम खानेपानी योजनाहरु निर्माण कार्य अगाडि बढीरहेको बताउनुभयो । वास प्लानको प्राथमिकता क्रम अनुसार खानेपानी आयोजनाहरु निर्माण भईरहेको बताउदै आयोजनाको दिगोपनाको लागि समुदायले पनि ध्यान दिनुपर्ने र आवश्यकता बमोजिम पालिकाको मर्मत सम्भार कोष मार्फत सहयोग गरिने जानकारी दिनुभयो । नगर प्रमुख बुढाथोकीले खानेपानी संगसंगै विद्युत, सडक, शिक्षा सवै क्षेत्रको विकासका लागि आफूहरु लागिपरेको बताउनुभयो । त्यस्तै शुभकामना मन्तव्यकै क्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्यले आयोजना निर्माणको सन्दर्भमा पालिकाले उपभोक्ता समिति गठनदेखि नै सल्लाह सुझाव दिदै आएको, योजनाको समय समयमा अनुगमन गरेको र उपभोक्ताहरुको सक्रिय सहभागीतामा सफलतापूर्वक सम्पन्न हुन गएको सन्दर्भमा खुशी व्यक्त गर्नुभयो । निर्माण कार्यमा उपभोक्ताहरुको उत्साहपूर्ण सहभागीता रहेको, डिजाईन इस्टिमेट अनुसार पुरा जनश्रमदान गरेको र भौगोलिक कठिनाईका बीच योजना निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा उपभोक्ताहरुलाई विशेष धन्यवाद् दिनुभयो ।
मन्तव्यकै क्रममा वडाध्यक्ष जीवनसिंह ठकुरीले वडाबाट गर्नुपर्ने सहयोग पूर्णरुपमा भईरहेको बताउनुभयो । योजना निर्माण कार्यमा सवैको सहयोग भएको र विशेष गरी समुदायले इमान्दाररुपमा काम गरेकोले योजना सफल भएको बताउनुभयो । उपभोक्ता समिति अध्यक्ष प्रशान्तसिंहले योजना निर्माणको क्रममा निकै कठिनाई भोग्नुपरेको भएतापनि निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । निर्माणको क्रममा सवै उपभोक्ता तथा उपभोक्ता समिति, वास युनिट कर्मचारी, परियोजना र पालिकाको सहयोग, उत्प्रेरणा एबं विश्वासले दृढताका साथ योजना निर्माण सम्पन्न गर्न सफल रहेको बताउनुभयो । हाल उपभोक्ताहरुका घर घरमा खानेपानीको सुविधा पुगेको र पानी महशुल उठाएर मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरी रेखदेख गर्ने कार्य समेत अगाडि बढेको बताउदै अब नियमित बैठक बस्न र आयोजनासित सम्बन्धित कागजात तथा सामग्रीहरु राख्न भवनको आवश्यकता पर्न थालेको जानकारी दिनुभयो ।

योजना हस्तान्तरण कार्यक्रममा उपभोक्ताहरुबाट विद्युत विस्तार, कृषि सडक स्तरोन्नती लगायत विकासका पूर्वाधारहरुमा पनि यसरी नै नगरपालिकाले सहयोग गर्नुपर्ने भनाई राखिएको थियो । कार्यक्रममा वास सल्लाहकार गुम्म बहादुर नेपाली र वास संयोजक गोविन्द प्रसाद शर्माबाट पनि योजना निर्माण कार्य सफलता पूर्वक सम्पन्न भएको बताउदै अब दिगो बनाउन तथा योजनाबाट अधिक्तम लाभ लिन सक्नुपर्ने धारणा राखिएको थियो । कार्यक्रमको सञ्चालन वास सहजकर्ता निम प्रसाद बुढाले गर्नुभएको थियो ।