पुष १२,सल्यान
सल्यानमा घर बनाउन खानीबाट ढुंगा निकाल्ने क्रममा खसेको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका ७ स्यानी जिमालका ४४ वर्षीय पोथे बोहराको ढिस्कोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहिबार दिउँसो घरदेखि केही टाढा रहेको सामुदायिक वनमा रहेको ढुंगा खानीबाट एक्लै ढुंगा निकाल्न गएका थिए । साँझसम्म पनि घर नर्फिएपछि खोजतलास गर्ने क्रममा स्थानीयले माथिबाट ढुंगासहितको ढिस्काले च्यापिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुगी ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाई पोष्टपार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
