नोखिराम थापा
सल्यान, २६ भदौं ।
विद्यमान कानुन तथा नियमावलीमा भएका व्यवस्था सम्बन्धि श्रमिक जनचेतनामुलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय बिरेन्द्रनगर, सुर्खेतको आयोजनामा बुधबार सल्यान उद्योग वाणिज्य संघको सभाहलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको संविधानले व्यवस्था गरेका श्रम तथा रोजगार सम्बन्धि ऐन नियमावलीमा भएका कानुनी व्यवस्था, हक अधिकार र पारिश्रमिक सम्बन्धि सेवा सुविधाको कार्यन्वयनको लागि राज्य नै उत्तरदायी हुनु पर्नेमा जोड दिएका छन् । श्रम तथा रोजगार सम्बन्धि कानुनी व्यवस्था, ऐन, नियमावलीमा संविधानले ठोस व्यवस्था गरेपनि व्यवहारमा लागु नहुदा श्रमिक र रोजगारदाता दुवै मारमा पर्ने गरेको उनिहरुको भनाई रहेको छ । विद्यमान कानुन तथा नियमावलीमा भएका व्यवस्था सम्बन्धि श्रमिक जनचेतनामुलक शिक्षा कार्यक्रम स्थानिय स्तरमा संचालन हुना आवश्यक रहेको र सम्बन्धित व्यक्तिहरुलाई यसको जानकारी हुनुपर्ने उनिहरुले बताए ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयले २०८० साउन १ गते देखि लागुहुने गरी चिया बगान बाहेकका र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । निर्धारण पारिश्रमिक अनुसार मासिक आधारभुत पारिश्रमिक रु १० हजार ८ सय २० रुपैया र महंगी भत्ता रु ६ हजार ४ सय ८० गरी १७ हजार ३ सय रुपैयाँ कायम गरेको छ । तेस्तै दैनिक आधारभुत पारिश्रमिक रु ४ सय १८ रुपैया र महंगी भत्ता रु. २ सय ५० गरी ६ सय ६८ रुपैयाँ निर्धारण गरेको छ । प्रतिधण्टा काम गर्ने श्रमिकको लागि रु ५६ रुपैया, महंगी भत्ता रु. ३३ गरी जम्मा ८९ रुपैया कायम गरेको छ ।
तेस्तै काम गर्ने समय सम्बन्धि व्यवस्था अनुसार रोजगारदाताले श्रमिकलाई प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टा मात्र काम लगाउने व्यवस्था छ । श्रमिकलाई लगातार ५ घण्टा काम गरी सकेपछि आधा घण्टा विश्रमको समय दिनु पर्नेछ । निर्धारण गरेको कार्यसमय भन्दा बढी काममा लगाउनु परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टा काम लगाउन पाईने र त्यसमा पनि छुटै पारिश्रमिक निर्धारण गरिएको छ । तेस्तै श्रम ऐन तथा नियमावलीमा रोजगार सम्भौता नगरी काममा लगाउन नहुने व्यवस्था गरेको छ ।

चिया बगानका श्रमिकको कति ?
चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो ।
प्रतिघण्टाका हिसावले अब श्रमिकले ६६ रुपैयाँ पाउने छन् । यसअघि यो रकम ५७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका सरदार र नाइकेको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ । यो रकम ५५ रुपैयाँ रहेको थियो ।
सामाजिक सुरक्षा सहितका सुविधा अनिवार्य
यस पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधाहरु, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउने व्यवस्थामा उल्लेख छ । तोकिएबो रकम भन्दा न्यूनतम हुने गरी अब पारिश्रमिक तोकेर रोजगार सम्झौता गर्न नपाइने व्यवस्थामा उल्लेख गरीएको छ ।
श्रमिक शिक्षा कार्यक्रममा विद्यमान कानुन तथा नियमावलीमा भएका व्यवस्थाको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योग व्यावसायी, पत्रकार र श्रमिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सल्यानको प्रमुख व्यपारिक केन्द्र शारदा नगरपालिका १ श्रीनगर बजारमा रहेका उद्योगी व्यापारीहरुलाई लक्षित गरी संचालन गरीएको थियो ।



