नोखिराम थापा
सल्यानमा, १४ भदौ ।
जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि नेपाल सरकारले लागु गरेको सामाजिक सुरुक्षा अन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम प्रति नागरिक आकर्षण बढ्दै गएको हो ।

स्वास्थ्य बिमा नहुँदा औषधी उपचारका लागि पैसा तिरिरहनुपर्छ । तर स्वास्थ्य बिमा गरेपछि बिमा गर्दा मात्र रु ३ हजार ५ सय पैसा लाग्ने गर्दछ । त्यस पछि एक लाख रुपियाँ बराबरको औषधी, उपचार गर्न पाउने भएपछि  स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्या थपिँदै गएको हो ।

सुरुसुरुमा स्वास्थ्य बिमा बनाउन मन नगर्नेहरू पछिल्लो समय आफूले पनि बिमा गर्ने र अरूलाई पनि बिमा गराउन सुझाव दिइरहेका छन् । २०७७ पौष २७ गते देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भएपनि २०७८ जेठ ०१ गते देखि सेवा सुरु हुने गरी लागू भएको थियो  । त्यसदेखि यता सल्यान जिल्लामा १६ हजार ७ सय ८९ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ८ हजार ६ सय ०२ जना छन् भने पुरुष ८ हजार १ सय ८७ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय सल्यानका संयोजक लाल बहादुर खड्का ले जानकारी गराउनु भयो । वर्षपिच्छे स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड जिल्ला संयोजक खड्काको भनाई रहेको छ ।

जिल्लामा समान्य परिवार विमित सदस्य (Premium) तिर्नु पर्ने विमित संख्या ९ हजार ७ सय ७५ जना, जेष्ठ नागरीक ५ हजार २ सय ५७ जना, ‘क’ वर्ग अपाङ्गता १ हजार ९२ जनाले बीमा गराएका छन् । तेस्तै HIV संक्रमित ५९ जना, MDR–TB १४, कुष्ठ रोगी २१ जना र महिला स्वास्थ्य स्वायमसेविका ५ सय ६० जनाले बीमा गराएका छन् ।

जस अन्तर्गत स्वास्थ्य बीमा गराउनेहरुमा हालसम्म सबै भन्दा बढी जिल्लाको कुमाख गाउँपालिकामा ३ हजार ९ सय ६७ जना र सबै भन्दा कम शिद्धकुमाख गाउँपालिकामा ४ सय ५१ जनाले बीमा गराएका छन् । तेस्तै शारदा नगरपालिकामा २ हजार ७ सय ३३ जना, बागचौर नगरपालिकामा १ हजार ८ सय ३९ जना, बनगाड कुपिण्डे नगरपालिकामा १ हजार ८ सय ३८ जनाले स्वास्थ्य बीमा गराएका छन् । दार्मा गाउँपालिकामा १ हजार ३ सय ८३ जना, छत्रेश्वरी गाउँपालिमा १ हजार ९ सय ७० जना, त्रिवेणी गाउँपालिकामा ६ सय ७५ जना, कालिमाटी गाउँपालिकामा १ हजार ४ जना र कपुरकोट गाउँपालिकामा ९ सय २९ जनाले स्वास्थ्य बीमा गरेको संयोजक खड्काले जानकारी दिनुभयो ।

यो सङ्ख्यालाई अझै बढाउन र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन स्थानीय तहसँगै र विभिन्न सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको उहाँले बताउनु भयो । जस अन्तर्गत जिल्लाका ६ पालिकामा स्थानिय तह स्वास्थ्य बीमा संयोजन समिती गठन भइसकेको छ । बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका र शिद्धकुमाख गाउँपालिकामा भने समिती गठन गर्न बाँकी रहेकोछ ।

बिमा गर्दा र अर्को वर्ष नवीकरण गर्दा पाँच जनाको परिवार सङ्ख्या भएको घरपरिवारले तीन हजार पाँच सय रुपियाँ तिर्नुपर्छ  भने पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्यले सात सय रुपियाँ थपेर बिमा गर्नुपर्ने प्रावधान छ । पाँच सदस्यीय घरपरिवार भएकाले वर्षभरि एक लाख रुपियाँ बराबरको औषधी, उपचारको सुविधा पाउने छन् । यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएका घरपरिवारले प्रति सदस्य बराबरको २० हजार रुपियाँ थप सुविधा पाउने पाउने बीमा बोर्डको प्रावधान रहेको छ । साथै ‘क’ वर्गको अपाङ्ग, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोगी, क्षयरोग, एचआइभी सङ्क्रमित बिरामी लगायतले भने निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रावधान रहेको छ ।

त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारलाई बिमा शुल्कको आधा छुट व्यवस्था छ । सस्तोमै औषधी, उपचार र सरकारले तोकेको लक्षित वर्गलाई निःशुल्क बिमा गरिदिने व्यवस्था थाहा पाउन थालेपछि स्वास्थ्य बिमा गर्नेहरू बढ्ने देखिन्छ ।

जिल्लामा सल्यान अस्पताल, प्राथामिक स्वास्थ्य सेवा केन्द्र थारमारे, प्राथामिक स्वास्थ्य सेवा केन्द्र लेखपोखरा र कपुरकोट आधारभुत अस्पताल कपुरकोटबाट बीमा गरेकाले सेवा लिइरहेका छन् ।