सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुवरको विहिबार विहान कुपिण्डे तालमा डबेर मृत्यु भएको हो ।
कुवर विहिबार बिहानै बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी थिइन । तालमा डुबेकी कुवरलाई आफन्त र स्थानीयले उद्धार गरेका थिए । उद्धार पछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले बताउनु भयो । घटनाको थप अनुसन्धान भई रहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ । ताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी कवर नुहाउने क्रममा देउता चढ्यो भन्दै गहिरो भाग तिर गएपछि डुबेको स्थानीयको भनाई छ ।
