वैशाख २०,सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको दियारगाउँ स्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँका ५ घर, ३ गोठ डढेलोले जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तेस्तै छत्रेश्वरी गाउँपालिका वडा नं. ५ माहानेटामा तिलकराम बि.कको घर र स्थानियका बारीमा रोपिएका कलामी बिरुवाहरु जलेर नस्ट भएको स्थानिय शेर बहादुर खड्काले बताए ।
बुधबार दिउँसो महेन्द्र बहुमुखी सामुदायिक बनमा लागेको डढेलो सल्कदै लामाचौर समुदायिक वनमा लागेको थियो । डढेला गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरु पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । उहाँका अनुसार छत्रेश्वरी ५ दियारगाउँ बस्ने थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएको छ । यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अन्य वनक्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।